काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालको आफ्नो मुख्य आधार इलाका मानिने रुकुम पुगेर आफ्नै पूर्वसहयात्री जनार्दन शर्मा ‘प्रभाकर’ विरुद्ध कडा प्रहार गरेका छन् ।
शनिबार रुकुम पश्चिमको मुसिकोटमा आयोजित १७ दलीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले शर्मालाई ‘भगौडा, पलायनवादी र उदण्ड’ को संज्ञा दिँदै अबको निर्वाचनमा आफू पूर्वी रुकुमबाट चुनाव लड्ने औपचारिक घोषणा गरेका हुन् ।
लामो समयदेखि पार्टीभित्र चल्दै आएको अन्तरद्वन्द्व र जनार्दन शर्माको पार्टी परित्यागपछिको पृष्ठभूमिमा प्रचण्डको यो सम्बोधनलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
आफ्नो सम्बोधनको अधिकांश समय जनार्दन शर्माको आलोचनामा खर्चिएका प्रचण्डले उनलाई नामै नलिई तर प्रष्ट संकेत गर्दै ‘प्रतिगामीको गोटी’ बनेको आरोप लगाए । ‘हिजो जनयुद्धको राप र तापमा सँगै रहेका केही मानिसहरू आज विचलित भएका छन्,’ प्रचण्डले निकै आक्रोशित मुद्रामा भने, ‘यो रुकुमको धर्ती शहीदहरूको रगतले सिञ्चित छ । यहाँका जनता क्रान्तिकारी छन् । तर यहाँका एकजना तपाईंहरूले अघि सारेका नेता (जनार्दन शर्मा) पलायन भए, उनी विचलित भए । उनी कहाँ पुगे भने कम्युनिष्ट र मार्क्सवाद छोड्ने ठाउँमा पुगे ।’

प्रचण्डले जनार्दन शर्माको स्वभावलाई ‘उदण्ड’ भन्दै टिप्पणी गरे । विगतमा आफूले उनको गल्ती र उदण्डतालाई पनि संरक्षण दिएको स्मरण गर्दै अब त्यो समय सकिएको उद्घोष गरे । ‘पहिला त प्रभाकर (जनार्दन) थियो र प्रचण्डलाई रुकुम ल्याउँथ्यो, अब प्रभाकर छैन, प्रचण्ड आउँछ कि आउँदैन भन्ने कसैलाई लागेको होला,’ प्रचण्डले थपे, ‘म भन्न चाहन्छु, म झन् बढी आउँछु । अब म मात्र आएको छैन, माधवकुमार नेपाललाई पनि साथै लिएर आएको छु । अब रुकुममा कुनै भगौडाको दादागिरी चल्ने छैन ।’
पूर्वी रुकुमबाट चुनाव लड्ने नयाँ रणनीति
रुकुम पश्चिम जनार्दन शर्माले निरन्तर निर्वाचन लड्दै आएका थिए र फराकिलो मतले विजयी हुन्थे । तर शर्मासँगको सम्बन्ध विच्छेदपछि प्रचण्डले अब रुकुमको राजनीतिमा आफ्नो प्रत्यक्ष उपस्थिति देखाउने रणनीति अख्तियार गरेका छन् । उनले सोही मञ्चबाट आफू आगामी निर्वाचनमा पूर्वी रुकुमबाट उम्मेदवार बन्ने घोषणा गरे ।
‘म पूर्वी रुकुमबाट चुनाव लड्दैछु, यो निश्चित भइसक्यो,’ प्रचण्डले भने, ‘म पूर्वी रुकुम आउनु भनेको पश्चिम रुकुम पनि आउनु हो । यो सिङ्गो रुकुम मेरो हो, यहाँका जनता मेरो परिवार हुन् । यहाँको विकास र समृद्धिको जिम्मा अब म आफैँले लिन्छु ।’ प्रचण्डको यो घोषणाले रुकुमको राजनीतिमा ठूलो हलचल ल्याइदिएको छ । जनार्दन शर्माको पकडलाई कमजोर बनाउन प्रचण्ड आफैँ मैदानमा उत्रिने संकेत यसले दिएको छ ।

प्रचण्डले जनार्दन शर्माको पार्टी बहिर्गमनलाई केवल व्यक्तिगत निर्णय मात्र नभई ‘अन्तर्राष्ट्रिय षड्यन्त्र’ को हिस्सा भएको दाबी गरे । उनले साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले नेपाली कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न जनार्दन जस्ता मानिसहरूलाई प्रयोग गरेको गम्भीर आरोप लगाए ।
‘निकै ठूलो षड्यन्त्र अन्तर्गत यी मानिसहरूलाई विचलित गराइएको छ,’ उनले भने, ‘साम्राज्यवादले हाम्रो एकता देखेर आत्तिएपछि हाम्रै भित्रका केही मानिसहरूलाई किनेको छ । तर रुकुमका जनता यस्ता जाली, फटाहा र ढोँगी पाखण्डीहरूको पछि लाग्ने छैनन् भन्ने मलाई विश्वास छ ।’ उनले जनार्दन शर्मालाई ‘दास’ को संज्ञा दिँदै उनी अब कसैको बपौटी नभएको समेत बताए ।
सभामा नेकपाका सहसंयोजक माधवकुमार नेपाल पनि उपस्थित थिए । प्रचण्डले माधव नेपालसँगको एकतालाई ऐतिहासिक र अपरिहार्य भनेका छन् । १७ वटा साना–ठूला कम्युनिष्ट र प्रगतिशील दलहरू मिलेर बनेको यो नयाँ मोर्चाले देशलाई नयाँ दिशा दिने प्रचण्डको दाबी छ ।
‘अहिले देश निकै असहज र असाधारण परिस्थितिमा छ,’ प्रचण्डले भने, ‘यो परिस्थितिको सामना गर्न हामीले १७ दलीय एकता गरेका हौँ । धनगढीदेखि बिराटनगरसम्म र सुर्खेतदेखि रुकुमसम्म एउटा नयाँ उत्साह पैदा भएको छ । हाम्रो चुनाव चिन्ह ‘लाल तारा’ अब देशभर चम्किनेछ ।’ उनले आगामी निर्वाचनमा रुकुम पश्चिमबाट स्थानीय नेता गोपाल शर्मालाई जिताउन अपिल गर्दै उनलाई आफ्नो पूर्ण समर्थन रहने बताए ।

राजनीतिक गालीगलौजका बीच प्रचण्डले रुकुमको विकासका लागि नयाँ प्रतिबद्धताहरू पनि व्यक्त गरे । उनले विगतमा प्रभाकरले ‘उदण्ड’ तरिकाले काम गरेको आरोप लगाउँदै अब आफूले गम्भीरताका साथ भौतिक पूर्वाधार, कृषिमा उत्पादकत्व वृद्धि, उर्जा, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताए ।
‘हामीले चुनावी घोषणापत्र लेख्न सुरु गरिसकेका छौँ,’ प्रचण्डले भने, ‘विगतका हाम्रा कमीकमजोरी सच्याउँदै जनतालाई भरोसा हुने गरी अघि बढ्नेछौँ । रुकुमको जलविद्युत र जडिबुटीलाई प्रयोग गरेर यहाँका युवाहरूलाई रोजगारी दिने योजना मेरो प्राथमिकतामा छ ।’ उनले काठमाडौँमा पार्टी हेडक्वार्टरको ढोका रुकुमेली जनताका लागि सधैँ खुला रहने आश्वासन समेत दिए ।
प्रचण्डले जनयुद्धको समयमा रुकुमले पुर्याएको योगदानको चर्चा गर्दै भावुक समेत बने । उनले ३९–४० सालतिर पहिलो पटक रुकुम आएको स्मरण गर्दै यहाँका शहीद परिवार, घाइते र अपाङ्गता भएका व्यक्तिहरूको त्यागलाई कसैले पनि अपमान गर्न नपाउने बताए । ‘यो धर्ती क्रान्तिको आधार हो,’ उनले भने, ‘कसैले पार्टी छोड्दैमा वा कसैले गद्दारी गर्दैमा क्रान्ति रोकिँदैन । हामी शहीदको सपना पुरा गरेरै छोड्छौँ ।’ उनले रुकुमका जनतालाई आश्वासन दिँदै भने कि हेडक्वार्टर अब जनताको सुख–दुःखमा पहिलेभन्दा बढी साथ रहनेछ ।
प्रचण्डको यो सम्बोधनले रुकुममा वर्षौँदेखि कायम जनार्दन शर्माको एकछत्र राजलाई चुनौती दिएको छ । आफ्नै पूर्व सर्वोच्च कमाण्डरले ‘भगौडा’ भनेर सार्वजनिक रूपमा अपमान गरेपछि अब जनार्दन शर्माले कस्तो प्रतिक्रिया दिन्छन्, त्यो हेर्न बाँकी छ । तर प्रचण्डले पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेर रुकुमको राजनीतिलाई अब सिधै आफ्नो नियन्त्रणमा राख्ने स्पष्ट पारेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।