लोड हुँदैछ...

मेनु

सुनसरीमा ३ हजार ५७८ म्यादीको लागि आवेदन लिन सुरु

सुनसरीमा ३ हजार ५७८ म्यादीको लागि आवेदन लिन सुरु

धरान । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा ३ हजार ५७८ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन गरिने भएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ३ हजार १४९ र सशस्त्र प्रहरी बल नेपालका ४२९ जना गरी कुल ३ हजार ५७८ म्यादी प्रहरी परिचालन गरिनेछ ।

निर्वाचन प्रहरी भर्ना, छनौट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार बिहीबार भर्नासम्बन्धी सूचना आह्वान गरिएको छ । सूचना अनुसार म्यादी प्रहरीका लागि माघ १ गतेसम्म दरखास्त दिन सकिनेछ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका तथा योग्यता पुगेका इच्छुक उम्मेदवारले जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल नेपाल नं. ४ हेडक्वार्टर सुनसरीमा दरखास्त दिन सक्नेछन्।

दरखास्त दिएका उम्मेदवारहरूको छनौट प्रक्रिया माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । माघ १२ गते अन्तिम नतिजा प्रकाशन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

छनौट भएका म्यादी प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम प्रदान गरिनेछ। नियुक्त भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिन वा नेपाल सरकारले तोके बमोजिम हुनेछ । ४० दिनको कार्यअवधिका लागि प्रहरी जवानको सुरुआती तलब स्केलअनुसार ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक उपलब्ध गराइने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।