लोड हुँदैछ...

मेनु

मन्त्रीको घरमा छापा मारेको होइन, तिललाई पहाड बनाइयो : प्रहरी

मन्त्रीको घरमा छापा मारेको होइन, तिललाई पहाड बनाइयो : प्रहरी

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा गएराति प्रहरी टोली पुगेको घटनाले तरंग उत्पन्न भएको छ । यस घटनालाई लिएर मन्त्रीको सचिवालयले छापा मारिएको भन्दै आपत्ति जनाएको छ भने अर्कोतर्फ प्रहरी र स्थानीय प्रशासनले यसलाई फरार अभियुक्तको खोजीका क्रममा भएको पुगेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मन्त्रीको आवासमै लक्षित गरेर छापा मारिएको नभई फरार अभियुक्त सो क्षेत्रमा लुकेको सूचनाका आधारमा प्रहरी परिचालन भएको बताएका छन्। ‘छापा भन्दा पनि खानतलासीका क्रममा फरार अभियुक्त, जो उद्योगमा भएको एउटा काण्डमा संलग्न संकास्पद मान्छे हो, उसले त्यहाँ सेल्टर लिएको छ भन्ने सूचनाका आधारमा प्रहरी गएको रहेछ। मन्त्रीको क्वाटर भन्ने त थाहा भएन, तर त्यहाँ अरु टोली पनि बसेको छ भन्ने बुझिएपछि प्रहरीले खानतलासी गर्यो। तर, यस क्रममा कम्युनिकेशनमा अनि अलिकति व्यावसायिकतामा कमजोरी देखियो, यसमा सरी नै भयो,’ कटेलले भने, ‘मन्त्रीज्यूको क्वाटरका रूपमा भन्दा पनि एक संकास्पद व्यक्ति त्यहाँ लुकेको छ भन्ने सूचनाका आधारमा प्रहरीले तत्काल एक्सन लिएको हो। तर यसमा अलिकति समन्वयको अभाव देखियो।’

मन्त्रीका प्रमुख स्वकीय सचिव केदार दाहालका अनुसार घटना हुँदा मन्त्री पराजुली जिल्ला बाहिर (विपद् सम्बन्धी कार्यक्रमका लागि धनकुटामा) थिए। राति अचानक स्थानीय बासिन्दाले फोन गरेर जानकारी गराएपछि मात्र सचिवालयले घटनाबारे थाहा पाएको थियो। ‘हामी त धनकुटामा थियौँ। बेलुका १० बजेतिर स्थानीय बासिन्दाले फोन गरेर तपाईंहरूको घरमा त प्रहरीले छापा मारिरहेको छ, के हो ? भनेर सोध्नुभयो। हामीले एसपी सापलाई फोन गरेर बुझ्दा त्यहाँ ६ जना शिविरका र अरु ५–७ जना प्रहरीहरू हुनुहुँदोरहेछ। स्थानीयहरू त्यहाँ पुगेर बुझ्दा प्रहरीले आफ्नो एक जना फरार अपराधी यहाँ बस्छ भन्ने सूचना पाएर आएको बताएका थिए,’ उनले भने । प्रहरीले गलत सूचनाका आधारमा कदम चालेको दाहालको दाबी छ। ‘पछि मैले एसपी सापलाई फोन गर्दा उहाँले इन्फर्मेसन गलत भएर प्रहरी त्यहाँ पुगेछु भन्नुभयो,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कोवित कटुवालले भने मन्त्री निवासमा छापा मारिएको भन्ने कुरा सत्य नभएको दाबी गरे। उनका अनुसार प्रहरी एक गम्भीर अपराधका फरार प्रतिवादीको खोजीमा सो क्षेत्रमा पुगेको थियो।
‘बिमल भट्टराई भन्ने मान्छे, जो ज्यान मार्ने उद्योग (कुटपिटबाट घाइते भएका व्यक्ति अहिले पनि आईसीयूमा छन्)का फरार प्रतिवादी हुन्, उनी पुष्पलाल चोक नजिकैको एरियामा लुकेका छन् भन्ने सूचनाका आधारमा प्रहरी टोली गएको हो। खोजीका क्रममा टोली मन्त्रीज्यूको घर नजिकै पुगेको मात्र हो, मन्त्रीज्यूको घरमा छापा मारेको वा खानतलासी गरेको होइन। यो विषयलाई तिलको पहाड बनाइयो,’ कटुवालले भने ।

उनले मन्त्री पराजुली बहालवाला मन्त्री भएको र उनीसँग कुनै दुश्मनी वा पूर्वाग्रह नरहेको स्पष्ट पारे । ‘मन्त्रीज्यू त्यहाँ भाडामा बस्नुहुँदोरहेछ। प्रहरी अपराधी खोज्न त्यो एरियामा गएको हो। मन्त्रीज्यूको आवास लक्षित गरेर कुनै कारबाही गरिएको होइन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।