लोड हुँदैछ...

मेनु

विपन्न परिवारका लागि सशस्त्रले बनाइदियो घर

विपन्न परिवारका लागि सशस्त्रले बनाइदियो घर

पाँचथर । सशस्त्र प्रहरी बल नेपालको पाँचथरस्थित हिम शिखर गुल्मले फिदिम–१० मा बसोबास गर्दै आएको एक विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसको अवसर पारेर स्थानीय पूर्णकुमार आङबो र सम्झना आङबो दम्पतीका लागि दुई कोठे घर निर्माण गरी हस्तान्तरण गरिएको हो।

आङबो दम्पतीका तीन जना छोराछोरी रहेका छन्, जो सिद्धदेवी आधारभूत विद्यालय थाङनापामा अध्ययनरत छन्। यसअघि घामपानीसमेत छेक्न नसक्ने सानो कटेरोमा बस्न बाध्य परिवारको अवस्था दयनीय देखेपछि सहयोगको पहल सुरु गरिएको थियो।

थाङनापाकी शिक्षिका रिता तुम्बापोले आङबो परिवारको अवस्थाबारे सार्वजनिक रूपमा सहयोगको आह्वान गरेपछि जनसेवा समाजको समन्वयमा घर निर्माणको काम अघि बढाइएको हो। ढुङ्गा, माटो, टिन र काठ प्रयोग गरेर चिटिक्क परेको दुई कोठे घर निर्माण गरिएको शिक्षिका तुम्बापोले जानकारी दिइन्।

घर निर्माणमा सशस्त्र प्रहरीका आठ जना कर्मचारीले लगातार १३ दिन श्रमदान गरेका थिए। काठपात स्थानीयस्तरमै जुटाइएको थियो भने टिन र अन्य सामग्री फिदिम नगरपालिका र फिदिम नगरपालिका वडा नम्बर १० को कार्यालयले उपलब्ध गराएका थिए। साथै केही मनकारी व्यक्तिहरूले नगद सहयोगसमेत गरेका थिए।

सशस्त्र प्रहरी बल हिमशिखर गुल्म फिदिमका प्रमुख डीएसपी चिरञ्जीवी प्रसाईंले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि घर निर्माण गरिएको बताए। नवनिर्मित घर बिहीबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो।

समारोहमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।