विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल अगाडि सञ्चालित ७ वटा फार्मेसी (औषधि पसल) मा प्रशासनले शिलबन्दी गरेको छ। बिहीबार हाम्रोमतले मित्र फार्मेसीले बिरामी ठगी गरेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेपछि त्यसको प्रभावस्वरुप शुक्रबार भएको सघन अनुगमनका क्रममा ती फार्मेसीहरू शिलबन्दीमा परेका हुन्।
जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग (डिडिए) विराटनगरको संयुक्त टोलीले शुक्रबार नोबेल अस्पताल आसपासका १४ वटा फार्मेसीमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा गम्भीर लापरबाही र बदमासी भेटिएपछि ७ वटा पसलमा तत्काल ताला लगाइएको हो।
औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काका अनुसार शिलबन्दी गरिएका फार्मेसीहरूमा सीताराम फार्मेसी, छिन्नमस्ता फार्मेसी, धनगढी माई मेडिकल, सुसंस्कृति फार्मेसी, गोल्ड फार्मेसी र आविष्कार फार्मेसी रहेका छन्।
अनुगमनका क्रममा ती फार्मेसीहरूले बिना दर्ताका विदेशी औषधि बिक्री वितरण गर्ने गरेको, म्याद गुज्रिएका औषधिहरू राखेको र बिरामीको स्वास्थ्यमा गम्भीर खेलबाड हुने गरी अन्य अनियमितता गरेको पाइएको सूचना अधिकारी खड्काले जानकारी दिए।
‘विभिन्न संचारमाध्यमहरुमा फार्मेसीले बिरामी ठगेको समाचार सार्वजनिक भएपछि प्रशासन र विभागले यसलाई गम्भीर चासोको रुपमा लिएको थियो,’ सूचना अधिकारी खड्काले भने, ‘समाचारकै आधारमा गरिएको अनुगमनका क्रममा अधिकांश फार्मेसीहरूले मापदण्ड पालना नगरेको र बिरामी ठग्ने गरेको पुष्टि भएपछि हामीले शिलबन्दी गरेर थप अनुसन्धान सुरु गरेका छौँ।’
बिहीबार हाम्रोमतले मित्र फार्मेसीले बिरामीलाई आवश्यक नभएको औषधि भिडाएको र चर्को मूल्य असुलेर ठगी गरेको तथ्य उजागर गरेको थियो। समाचार आएको २४ घण्टा नबित्दै सरकारी निकायले एक्सन लिएपछि स्थानीय र बिरामीका आफन्तहरूले खुसी व्यक्त गरेका छन्।
प्रशासनले शिलबन्दी गरिएका फार्मेसी सञ्चालकहरूलाई थप कारबाहीका लागि औषधि ऐनअनुसार प्रक्रिया अगाडि बढाइने जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।