विराटनगर । झापाको कनकाई पुल नजिकै ‘प्रेसर कुकर बम’ राखेर सर्वसाधारणमा त्रास फैलाएको आरोपमा प्रहरीले ५५ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेललाई पक्राउ गरेको छ।
कनकाई नगरपालिका–८ का स्थायी बासिन्दा खरेललाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो।
गत पुस १९ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईखोला पुल नजिकै शंकास्पद वस्तु फेला परेको थियो, जसलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो। घटनास्थलमा ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा समेत भेटिएको थियो।
झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार खरेल ‘सिरियल’ बम आतंककारी हुन्। उनी यसअघि पनि इटहरी र झापाका विभिन्न स्थानमा बम विस्फोट र आतंक फैलाएको अभियोगमा पटक–पटक पक्राउ परी २ वर्ष ५ महिना कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्।
अनुसन्धानका क्रममा खरेल गत भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट फरार भएको खुलेको छ। कारागारबाट भागेपछि भूमिगत रहेर उनले पुनः विर्तामोड, दमक र इटहरी क्षेत्रमा बम राखेर आतंक मच्चाउँदै आएको प्रहरीको निष्कर्ष छ। उनीमाथि विस्फोटक पदार्थ र सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।