विराटनगर । “पहिलो दिन नै आवेदन दिनेको ठुलो भिड थियो। मैले बिहानै १० बजे फारम लिएर आवेदन दिएको छु,” उर्लाबारी–२ का २२ वर्षीय रोमन श्रेष्ठले भने, “अब ४ माघमा छनोट चरणका लागि बोलाइएको छ, त्यस दिन फेरि आउनेछु।”
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी बन्ने सपना बोकेर जिल्ला प्रहरी कार्यालय मोरङ आइपुगेका रोमनले करिब एक घण्टा लाइन बसेर शुक्रबार आफ्नो आवेदन फारम बुझाए। उनीजस्तै निर्वाचन प्रहरी बन्न चाहने युवा–युवतीहरूको शुक्रबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालय मोरङको परिसरमा बाक्लो उपस्थिति देखिएको छ।
सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मोरङमा ठुलो संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्लाका ६ वटा निर्वाचन क्षेत्रका लागि कुल ४ हजार ३ सय ८३ जना म्यादी प्रहरी छनोट गरिनेछ।

जिल्ला प्रहरी कार्यालय मोरङको निर्वाचन सेलका इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठ नेतृत्वको टोलीले म्यादीमा भर्ना हुन चाहनेहरूको आवेदन संकलन गरिरहेको छ। प्रहरीका अनुसार आवेदन दिने म्याद आगामी माघ १ गतेसम्मका लागि खुला गरिएको छ।
म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। पहिलो दिनमै युवाहरूको उल्लेख्य सहभागिताले निर्वाचन सुरक्षाका लागि जनशक्ति परिचालनमा सहज हुने प्रहरीको विश्वास छ। आवेदन दिएकाहरूको छनोट प्रक्रिया आगामी माघ ४ गतेबाट सुरु हुनेछ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।