इटहरी । सुनसरीको इटहरीस्थित सैनिक अस्पतालमा निःशुल्क पेट रोग (ग्यास्ट्रोएन्टेरोलोजी) सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ।
पुस २१ देखि २३ गतेसम्म सञ्चालन गरिएको तीन दिने शिविरबाट जम्मा ४० जना सेवाग्राही लाभान्वित भएका छन्।
सैनिक अस्पतालले यसअघि निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिसकेको भए पनि पेट रोगसम्बन्धी स्वास्थ्य शिविर भने पहिलो पटक आयोजना गरेको हो । शिविरको पहिलो दिन बाह्य सेवातर्फ १४ जनाले उपचार सेवा लिएका थिए । सोही दिन एन्डोस्कोपी सेवामा २ महिला तथा कोलोनोस्कोपी सेवामा १ पुरुष र १ महिला लाभान्वित भएका थिए।
दोस्रो दिन बाह्य सेवातर्फ १४ जनाले सेवा लिएका थिए भने एन्डोस्कोपी सेवामा ३ जना सहभागी भएका थिए। अन्तिम दिन १२ जनाले बाह्य सेवा लिएका थिए । सो दिन एन्डोस्कोपी सेवा ५ जनाले कोलोनोस्कोपी सेवा १ जनाले प्राप्त गरेका थिए।
तीन दिनको अवधिमा बाह्य सेवातर्फ कुल ४० जना, एन्डोस्कोपी सेवातर्फ १० जना र कोलोनोस्कोपी सेवातर्फ २ जनाले उपचार सेवा लिएको सैनिक अस्पतालले जनाएको छ। अत्यधिक चिसो मौसमका कारण अपेक्षित संख्यामा बिरामी उपस्थित हुन नसकेपनि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गरिएको सैनिक अस्पतालका कमाण्डेन्ट प्राविधिक महासेनानी प्रोफेसर डा.कुमार रोकाले जानकारी दिए।
सैनिक अस्पतालले मुख्य रूपमा नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक तथा उनीहरूको परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय सर्वसाधारणलाई लक्षित गर्दै प्रभावकारी स्वास्थ्य सेवा अभियान विस्तार गर्दै आएको अस्पतालले जनाएको छ।
शिविरमा आवश्यक औषधिहरू निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको अस्पतालले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।