धनकुटा । जिल्ला अस्पताल धनकुटामा रक्तसञ्चार केन्द्र स्थापना गर्न ८ लाख २१ हजार रुपैयाँ सहयोग संकलन भएको छ।
जिल्ला अस्पतालमा हालसम्म रक्तसञ्चार केन्द्र नहुँदा रगत आवश्यक परेका बिरामीका आफन्तले व्यक्तिगत रूपमा दाता खोज्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रयास भएको हो ।
नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको अगुवाइमा जिल्ला अस्पताल, गैरआवासीय नेपाली संघ (एनआरएनए), स्थानीय तह, पत्रकार महासंघलगायत विभिन्न सामाजिक संघसंस्थाले सार्वजनिक आह्वान गर्दै सहयोग संकलन अभियान सञ्चालन गरेका हुन्। रक्तसञ्चार केन्द्र स्थापनाका लागि गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको समन्वयमा स्वदेश तथा विदेशमा रहेका दाताबाट रकम जुटाइएको छ ।
संकलित रकममध्ये एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानले संस्थागत रूपमा २ लाख रुपैयाँ सहयोग गरेको छ। यसैगरी, किर्गिस्तानमा रहेका एनसीसीका पूर्व अध्यक्ष डा.किसान भण्डारीले २ लाख, एनआरएनए राष्ट्रिय समन्वय परिषद् क्यानडाले १ लाख १० हजार, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् जापानका उपाध्यक्ष रोविनप्रसाद शेरचनले १ लाख, एनआरएनए एनसीसी चीनले ७१ हजार, एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले ५५ हजार, एनआरएनए उपक्षेत्रीय संयोजक दीपक कँडेलले ५० हजार, एनआरएनए राष्ट्रिय समन्वय परिषद् कंगोबाट २५ हजार तथा नुवाकोटका व्यवसायी अशोकराज पाण्डेले १० हजार रुपैयाँ सहयोग गरेका छन्।
संकलित सम्पूर्ण रकम माछापुच्छ्रे बैंकमा रहेको नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको खातामा जम्मा भइसकेको गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले जानकारी दिए। पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खबासका अनुसार आगामी दिनमा थप स्रोत जुटाउँदै आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाइनेछ।
विसं १९७० मा त्रिचन्द्र अस्पतालका नाममा स्थापना भएको धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना भएपछि जिल्लामा उपचारका क्रममा रगत अभावका कारण हुने समस्या न्यूनीकरण हुनेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।