काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहानैदेखि तराईका धेरैजसो स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको जनाएको छ। दिउँसो र राति पनि हुस्सु लाग्ने क्रम जारी रहने तथा देशका उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएकाले सतर्कता अपनाउन महाशाखाले विशेष आग्रह गरेको छ।
महाशाखाले सोमबार बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ। तराईमा लाग्ने बाक्लो हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने देखिएको छ।
दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी क्षेत्रका एक –दुई स्थानमा हल्का वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ।
राति पनि तराईका धेरै स्थानमा हुस्सुको प्रभाव रहनेछ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। चिसो र हुस्सुका कारण भिजिविलिटी कम हुने भएकाले यात्रा गर्दा र स्वास्थ्यको ख्याल गर्न महाशाखाले सबैमा अनुरोध गरेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।