विराटनगर । नेकपा एमालेको गत महाधिवेशनमा सचिव पदमा पराजित भएका विनोद ढकालको नाम आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङका तीनवटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ ।
केन्द्रीय नेतृत्वमा पराजय बेहोरे पनि जिल्लास्तरमा बलियो प्रभाव कायम राखेका ढकालको नाम मोरङ–१, मोरङ–४ र मोरङ–६ बाट सिफारिस भएको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीले उम्मेदवारका नाम जिल्ला कमिटीलाई सिफारिस गरेको छ । तर, कुनै पनि क्षेत्रीय कमिटीले एकल नाम सिफारिस गरेको छैन । सबै क्षेत्रबाट गरेर जम्मा ४३ जना आकाङ्क्षीको नाम सिफारिस गरिएको छ।
क्षेत्रीय कमिटीका अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बु, योगेश बस्नेत, डिल्ली शर्मा अधिकारी र भूपाल जिमीको नाम सिफारिस गरिएको छ। क्षेत्र नम्बर २ बाट निवर्तमान सांसद ऋषिकेश पोखरेल, रंगेली नगर प्रमुख दिलीप अग्रवाल र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझाको नाम सिफारिस भएको छ ।
मोरङ क्षेत्र नम्बर ३ बाट सबैभन्दा धेरै आकाङ्क्षीको नाम सिफारिस भएको छ। यस क्षेत्रमा वासुदेव थापा, विजय डाँगी, सुजय गौतम, प्रकाश राई, किशोर राई, प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी र सुन्दरहरैचा नगर प्रमुख केदारप्रसाद गुरागाईँको नाम सिफारिस भएको छ । यस्तै, इरान राई, सुरेन्द्रबहादुर थापा, मधु गुरुङ, धनमाया तामाङ, वीरेन्द्र श्रेष्ठ, मोहनप्रसाद न्यौपाने, रविन थापा र पूर्व सांसद भानुभक्त ढकालको नाम पनि ३ बाट सिफारिस गरिएको छ।
क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य जीवन घिमिरेसहित विनोद ढकाल, नरेन्द्र बस्नेत, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी, मनोजविक्रम शाह, मृत्युञ्जय झा र मिना चौधरीको नाम सिफारिस भएको छ । त्यस्तै मोरङ क्षेत्र नम्बर ५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मिना यादव, मझार आलम, दिलसाद आलम र मनोज तिवारीको सिफारिस भएको छ ।
मोरङ क्षेत्र नम्बर ६ बाट ढकालसहित पूर्वसांसद लालबाबु पण्डित, पर्शुराम बस्नेत, सत्यनारायण चौधरी, भूराज राई, यशोदा अधिकारी र रिता न्यौपानेको नाम सिफारिस गरिएको छ । ढकाल सोही क्षेत्रबा बासिन्दा भएपनि गत निर्वाचनमा मोरङ क्षेत्र नं. ४ मा उम्मेदवार भएर पराजित भएका थिए ।
एमालेको विधानअनुसार अन्तिम टिकट वितरणको अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीकोमा रहने भएकाले तीन क्षेत्रबाट सिफारिस भएका ढकालले टिकट पाउँछन् या नपाउने भन्ने विषय अनिश्चित छ । जिल्ला कमिटी हुँदै केन्द्रसम्म पुग्ने सिफारिस प्रक्रियापछि मोरङमा एमालेको अन्तिम उम्मेदवार टुंगो लाग्नेछ।
२०७९ सालको निर्वाचनमा मोरङका ६ वटा क्षेत्रमध्ये एमालेले मोरङ क्षेत्र नं. २ मा मात्र जित निकालेको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।