गएको हप्ता कोलकाताको भ्रमणको क्रममा म परिवारसहित फूलै फूलले भरिएको खिराइ पुगेको थिएँ । यो ठाँउ कोलकाताको चञ्चल र व्यस्त जीवनबाट केही घण्टाको यात्रापछि पुग्न सकिन्छ । खिराइ पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लामा अवस्थित एउटा सानो गाउँ हो । आजभोली यो गाउँलाई “पश्चिम बंगालको फूलको उपत्यका (Valley of Flowers of West Bengal)” भनेर चिनिन्छ। तर खिराइ केवल रंगीन फूलहरूको दृश्य मात्र होइन, यो सन्तुलित कृषि, श्रम, सौन्दर्य र सम्मानजनक जीवनको एउटा जिवन्त उदाहरण हो ।
मौसमी बुद्धिमत्ता : वर्षापछि सुरु हुने जीवन खिराइको कथामा वर्षासँगै बग्छ। मनसुन सकिएपछि, पानीले पोसिएको माटो तयार पारिन्छ र फूलहरूको रोपाइँ सुरु हुन्छ। यो समय माटोमा पर्याप्त चिस्यान हुन्छ, तापक्रम अनुकूल हुन्छर बिरुवाले सहजै जरा फैलाउँछन। त्यसपछि, डिसेम्बरदेखि फेब्रुअरीसम्म खिराइलाई फूलले ढाकिन्छ। सयपत्री, गोदावरी,जिनिया, कोसमस, रजनीगन्धा, डाह्लिया, सनफ्लावर, पिटुनियालगायत विभिन्न मौसमी फूलहरू एकपछि अर्को गर्दै फक्रिन्छन्। यो सौन्दर्य संयोग होइन योत वर्षौंदेखि विकसित सिकाई र मौसमी अनुकुलताको परिणाम हो ।
फूलसँगै तरकारी अन्तरबालीले दिने स्थायित्व: खिराइको अर्को महत्वपूर्ण विशेषताफूल खेतीसँगै अपनाइएकोअन्तरबाली प्रणाली हो । फूलका पङ्क्तिहरूको बीचमा वा छेउका खेतमा किसानहरूले बिभिन्न प्रकारका तरकारीहरूको खेती पनि गर्छन् । मैले देख्दा आलु, बन्दाकोपी, काउली, ब्रोकाउली, तोरी, प्याज लगाएतका तरकारीहरू फूलका क्यारीहरुसंगै हुर्किरहेका थिए ।
यसले किसानलाई धेरै फाइदा पुर्याएको छ ।फूल फक्रिनुअघि नै नियमित आम्दानी, बजार उतार–चढावको जोखिम न्यूनीकरण, माटोको उर्वराशक्ति सन्तुलन, घरायसी खाद्य सुरक्षामा सुधार गरेको छ । फूल मुख्य बाली भए पनि, तरकारीहरूले किसानको जीवनलाई आधार दिन्छन्। खिराइमा एकबाली खेतीभन्दा सम्बद्ध र विवेकपूर्ण विविधीकरण धेरै राम्रो देखिएको थियो ।

फुलहरूको हावडासम्मको यात्रा बजारसँगको सूक्ष्म तालमेल: खिराइका फूलहरू केवल खेतमै सीमित हुँदैनन्। बेलुकी वा बिहान सबेरै टिपिएका फूलहरू रातभरि यात्रा गरेर हावडा फूल बजार पुग्छन् यो एशियाकै ठूला फूल बजारहरूमध्ये एक हो।यहाँ देखिने मुख्य कुरा भनेको:
- छिटो संकलन
- न्यून प्याकेजिङ
- न्यून क्षति
- दैनिक नगद कारोबार हो । उत्पादन र बजारबीचको योसूक्ष्म समय–तालमेल किसानका लागि मूल्य सुनिश्चित गर्छ। यसै कारण, यहाँ फूलहरू ताजा पनि हुन्छन् उपभोक्ताका लागि सस्ता पनि ।
खिराइ भ्रमण गरेको अर्को दिन बिहान हामीहरू कोलकाताको हावडा पुलको नजिकै रहेको हावडा फूल बजार पुग्दा त्यँहा फूल बेच्ने र किन्नेहरूको निक्कै भिड थियो । बिभिन्न जातका फूलहरू त त्यँहा हुने नै भए फूलको अलावा पनि धेरै कुराहरु जस्तै दुबो, बेलपत्र, धतुरो, बिभिन्न बिरुवाका पात र हाँगाहरु त्यँहा बिकिरहेका थिए । त्यो देख्दा लाग्थ्यो आखिर संसारमा के चै बिक्दैन र? हामीले बेच्न मात्रै जान्नु पर्नेरहेछ ।

फूलले तानेका मानिसहरू : गाउँमै नयाँ अर्थतन्त्र
फूल फक्रिने मौसममा प्रतिदिन सयौं आगन्तुकहरू खिराइ पुग्छन् पर्यटक, फोटोग्राफर, विद्यार्थी, अनुसन्धानकर्ता र प्रकृतिसँग केही समय बिताउन चाहने परिवारहरू। यससँगै गाउँमा नयाँ सम्भावनाहरू जन्मिरहेका रहेछन । आजभोली खिराइका बाटोछेउ र खेतछेउमा पचासौं खानेकुराका पसल, चिया पसल र साना स्टलहरू चलेका छन् । यी प्रायःमहिला, भूमिहीन परिवार, वृद्ध वा युवाहरूले सञ्चालन गरेका छन्। सबैले यो मार्फत जिविकोपार्जनको साधन पाइरहेका रहेछन ।
फलस्वरूप, फूल खेतीभन्दा बाहिर पनि सयौं मानिसले रोजगारी र आम्दानी पाएका छन्। आजको खिराइमा आम्दानीका श्रोतहरू अनेक छन् :
- फूल खेती
- संकलन र बन्डलिङ
- ढुवानी र व्यापार
- खानेकुरा तथा चिया पसल
- आगन्तुक मार्गदर्शन र फोटोग्राफी
खिराइ अब केवल कृषि गाउँमात्र होइन, यो त ग्रामीण सेवा–आधारित अर्थतन्त्रको नमुना बन्दै गएको छ। हामी त्यहाँ पुग्दा केहि सयमा रहेका आगन्तुकहरु हामी फिर्ने बेलासम्म हजारौमा पुगेका थिए । खिराइको मुखैमा रहेको पुल मुनीको गाडी पार्किङ्ग स्थल भरिएर आगन्तुकहरू चढेर आएका गाडीहरुको ताँती बाटो भरी थिए ।

अनुशासित सौन्दर्य: खिराइको सौन्दर्य सजावटको परिणाम मात्र होइन यो त श्रृजनशिलताको नमुना हो । फूल खेतीले किसानलाई माटो, पानी, समय र श्रमप्रति अत्यन्त सचेत बनाएको छ। थोरै बेवास्ता गर्दा पनि त्यसको नराम्रो नतिजा तुरुन्त देखिन सक्छ। यसैले, फूलले केवल खेतको मात्र होइन, किसानको सोच र व्यवहार पनि संस्कारित बनाएको छ।
फूल पछाडिका मानवीय कथा: हरेक फूलको खेतसँग एउटा जीवन कथा जोडिएको छ । किसानहरू ऋण र न्यून आम्दानीबाट मुक्त भएका किसान, महिलाहरू जो आज घरको अर्थतन्त्रको मेरुदण्ड बनेका छन् र विदेश पलायनको साटो गाउँमै भविष्य देखेका युवाहरु खिराइलाई अझ समुन्नत र आकर्षणको केन्द्र बनाउन लागिपरेकाछन । यस्ता कथाहरूले ठूलो हल्ला गर्दैनन्, तर गहिरो र दीगो परिवर्तन बोकेका हुन्छन् हामीहरूलाई सिकाई रहेका हुन्छन ।
खिराइले दिने सिकाइ: खिराइले नेपालजस्ता देशका लागि पनि महत्वपूर्ण सन्देश दिन्छः मौसमी ज्ञान सही प्रयोग गरे अवसर बन्छ, सानो जमिनबाट पनि ठूलो मूल्य सिर्जना सम्भव छ, अन्तरबालीले जोखिम घटाउँछ, कृषि र पर्यटन एक–अर्काका पूरक बन्न सक्छन्, मूल्य श्रृंखला गाउँमै विस्तार गर्दा रोजगारी बढ्छ । यो नक्कल गर्नुपर्ने मोडेल होइन, तर गहिरिएर बुझ्नुपर्ने प्रणाली हो। बुझेर लागियो भने जतासुकै अवसरहरू श्रृजना गर्न सकिन्छ । कामहरू देख्दा सानै हुन्छन तर तिनिहरूले ल्याउने रुपानतरण ठूलो हुन्छ ।
फूलभन्दा परको उपत्यका: साँझ पर्न थालेपछि, खिराइका फूलहरू टिपिन्छन्र तिनिहरूले आफ्नो अर्को चरणको यात्रा सुरु गर्छन् —बजार, मन्दिर, उत्सव र घरतर्फ। टिपिएका फूलहरू ओइलाउनेछन्, तर प्रणाली बाँच्छ। त्यसैले खिराइले सम्झाउँछ जब भूमि, श्रम, मौसम र बजार सन्तुलनमा आउँछन्, त्यो बेला गाउँ पनि समृद्धिको उपत्यका बन्न सक्छ । त्यसैले, खिराइकेवल फूलको उपत्यका होइन, सिकाइको उपत्यका पनि हो ।
खिराइ र नेपालका फूल खेती क्षेत्रहरू : समानता, भिन्नता र सिकाइ
खिराइ (पश्चिम बंगाल) र नेपालका विभिन्न फूल खेती क्षेत्रहरूभौगोलिक रूपमा फरक भए पनि कृषि–संभावना, श्रम संरचना र बजार चाहनामा धेरै हदसम्म समान छन्। तर परिणाम किन फरक देखिन्छ ? यसको उत्तर प्रणाली, बजार र संस्थागत व्यवस्थापनमा लुकेको छ । यहि कुरा हो हामीले मिहिनसंग हेर्नु र बुझ्नु पर्ने अनि आफुलाई त्यसको लागि तयार गर्नुपर्ने ।
१. भू–परिस्थिति र उत्पादन सम्भावनाखिराइ (पश्चिम बंगाल)
- समथर भूभाग
- मनसुन–आधारित तर व्यवस्थित जलचक्र
- एकरूप ठूलो क्षेत्रफलमा फूल खेती
- डिसेम्बर–फेब्रुअरी मुख्य फूल मौसम
नेपालमा उचाइ र तापक्रमको विविधता खिराइभन्दा ठूलो छ । यो हामीलाई प्राकृतिले दिएको फाइदा हो, तर हामीले त्यसको संगठित उपयोग गर्न सकेका छैनौ । हामी आआफु मै सिमित छौ । म/मेरो बाट हामी/हाम्रो हुन सकेका छैनौ । त्यसैले हामीले ठूला संभावनाहरु श्रृजना गर्न सकिरहेका छैनौ ।
२. बाली छनोट र विविधीकरण
खिराइमा
- सयपत्री, गोदावरी,रजनीगन्धा, जिनिया, डाह्लिया, कोसमस
- फूलसँगै आलु, काउली, बन्दाकोपी, ब्रोकाउली
- जोखिम न्यूनीकरणका लागि अन्तरबाली अनिवार्यजस्तै
नेपालमा
- सयपत्री, गोदावरी,गुलाब, जर्बेरा, कार्नेशन (ग्रीनहाउस केन्द्रित)
- सिजनल फूलहरू कम प्राथमिकतामा, बिरुवा बिक्रिमा बढि केन्द्रित
- फूल खेती प्रायःएकमुखी/एकबाली
सिकाइ :नेपालमा फूल खेतीलाई ग्रीन हाउस–केन्द्रित विलासिताबाट ठूलो क्षेत्रफलमा खुला खेत + सिजनल फूल +तरकारी मिश्रण खेतीतर्फ लैजान सकिन्छ। यसले फुल र बिरुवा बेचेर आउने कमाइ संगसंगै कृषि पर्यटनको ठूलो संभावनालाई पनि बढाएर लान सक्छ ।

३. बजार पहुँच र मूल्य श्रृंखला
खिराइहावडा जस्तो विशाल थोक बजारसँग प्रत्यक्ष जोडिएको, दैनिक सहज ढुवानी, दैनिक नगद कारोबार र न्यून भण्डारण, न्यून क्षति मार्फत उत्पादक र उपभोक्ताहरूलाई जोडिएको छ ।
नेपाल काठमाडौं केन्द्रीत बजार, सीमित थोक बजार संरचना र ढुवानी, भण्डारणको समस्या र मूल्य चर्को र अस्थिर रहेको छ । जसले गर्दा फुलखेतीलाई पर्यटन र ठुलो संभावनासंग जोडन सहज भैरहेको छैन ।
४. पर्यटन र सहायक रोजगारी
खिराइमा फूल फक्रिने मौसममा सयौं आगन्तुक, खानेकुरा स्टल, चिया पसल, स्थानीय सेवा, फूल बाहेक सयौं रोजगारीको श्रृजना भएको छ ।
नेपालमा फूल खेती क्षेत्रहरूमा पर्यटन न्यून, दृश्य त छ, तर अनुभव डिजाइन छैन । त्यसैले गोदावरी, धरान, इलाम, पोखरा जस्ता क्षेत्रमा Flower trail, Seasonal flower festival, Farm visit + local food जोड्न सके फूल खेती केवल बालीमात्र होइन, अझ बिस्तृत ब्यवसाय बन्छ।
५. संस्थागत संरचना र सामूहिकता
खिराइमा अनौपचारिक तर बलियो किसान नेटवर्क, ज्ञान आदान–प्रदान सहज, मूल्य र समयप्रति सामूहिक समझ भएकोले उनीहरुले गाँउमै संभावनालाई साकार पारेका छन ।
नेपालमा सहकारी र समूह भए पनि, बजार–नेतृत्व कमजोर, व्यक्तिगत निर्णय हाबी भएकोले फूल खेतीलाई क्लस्टर–आधारित सहकारी मोडेलमा पुनः संरचना गर्न नसक्दा यसको ब्यापक संभावनालाई साकार पार्न सकिएको छैन ।
६. रोजगार र युवा सहभागिता
खिराइमा फूल खेती + सेवा व्यवसाय, त्यस मार्फत युवाको पलायन कम गर्दै र महिला सहभागिता उच्च पारेर दिगो आयआर्जनको बिकास गरिएको छ ।
नेपालमा फूल खेती अझै सीमित उद्यम, युवा आकर्षण कम र महिलाको श्रम भए पनि नेतृत्व कम भएको ब्यवसायमा सिमित छ । भौगोलिक विविधताले दिएको असिम संभावनालाई हामीले अझै सदुपयोग गर्न सकिरहेका छैनौ । त्यसैले फूल खेतीलाई पर्यटनसंग जोडेर युवा–मैत्री, सानो लगानी–उच्च आम्दानी मोडेलका रूपमा बिकास गर्न जरुरी छ।
नेपालका लागि मुख्य सन्देश: खिराइले नेपाललाई यस्तो भन्छ जस्तो लाग्छ “तिमीहरूसँग भू–उचाइ छ, विविधता युक्तमौसम छ, श्रम छ। अब चाहिने कुरा भनेको रुपान्तरणको अठोट, समन्वय, बजार र श्रृजनशिल दृष्टिकोण हो।” नेपालले फूल खेतीलाई केवल बिरुवा बिक्री, ग्रीनहाउस व्यवसाय, केवल शहरी उपभोग र केवल सहायक बालीको रूपमा होइन, ग्रामीण रोजगार, पर्यटन र सौन्दर्य अर्थतन्त्रको रूपमा हेर्नु पर्ने बेला आएको छ। खिराइ र नेपालबीचको भिन्नता क्षमता वा प्रकृतिमा होइन, प्रणाली र सोचमा छ । यदि नेपालले खिराइबाट मौसमी अनुशासन, बजार–केन्द्रित उत्पादन,अन्तरबाली र पर्यटन–सहयोगी कृषि सिक्न सक्यो भने, हाम्रो गाउँहरू पनि एक दिन फूलले मात्र होइन, अवसरहरूले पनि फक्रिने छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।