लोड हुँदैछ...

मेनु

सासु–ससुरालाई विष खुवाउने बुहारीको बयान – मार्ने मनसाय थिएन, बिरामी परुन् र दुःख पाउन् भन्ने थियो

सासु–ससुरालाई विष खुवाउने बुहारीको बयान – मार्ने मनसाय थिएन, बिरामी परुन् र दुःख पाउन् भन्ने थियो


विराटनगर ।
मोरङको बेलबारीमा आफ्नै सासु र ससुरालाई खानामा मुसा मार्ने विषादी मिसाएर हत्या गरेको अभियोगमा पक्राउ परेकी बुहारी सुनिता कार्कीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार पठाएको छ । बेलबारी नगरपालिका–२, सिंहदेवी टोलकी सुनिताले पकाएर राखिएको तरकारीमा विषादी मिसाइदिँदा ७७ वर्षीया सासु इन्द्रमाया राईको मृत्यु भएको थियो भने ७० वर्षीय ससुरा भक्तबहादुर राई गम्भीर घाइते भएका थिए । अदालतले बिहीबार थुनछेक बहसपछि सुनितालाई मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि जेल पठाउने आदेश दिएको हो ।

घटनाको सुरुवात गत मंसिर २० गते भएको थियो । सो दिन बिहान करिब ८ देखि ९ बजेको समयमा सुनिताले आफ्ना सासु–ससुराले पकाएर ग्वालीमा रहेको चुलोमाथि राखेको तरकारीको कराईमा मुसा मार्ने विषादी मिसाएकी थिइन् । तरकारीमा विषादी मिसाएपछि उनी माइती घर गोठगाउँ गएकी थिइन् । दिउँसो सासु र ससुराले त्यही विषादीयुक्त तरकारीसँग खाना खाएपछि उनीहरू बिरामी परेका थिए । ससुरा भक्तबहादुर सुँगुरलाई चारो खोज्न जाँदा बाटोमै वान्ता गर्दै बेहोस अवस्थामा फेला परेका थिए भने सासु इन्द्रमाया पनि घरमै अचेत अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा सोही रात सासु इन्द्रमायाको मृत्यु भएको थियो । ससुरा भक्तबहादुरको भने उपचारपश्चात् ज्यान जोगिन सफल भएको छ

प्रहरी अनुसन्धान र अदालतमा दिएको बयानका क्रममा सुनिताले आफूले सासु–ससुरालाई मार्ने नै उद्देश्यले नभई उनीहरू बिरामी परुन् र खर्च होस् भन्ने उद्देश्यले विषादी हालेको दाबी गरेकी छिन् ।

सुनिताका अनुसार भोजपुरको आरुबोटेका प्रसान राईसँग २०७१ सालमा प्रेम विवाह गरेपछि उनीहरूका दुई सन्तान भएका थिए । पति वैदेशिक रोजगारीमा गएपछि उनी पहाडबाट तराई झरेकी थिइन् । निःसन्तान रहेका बडा ससुरा भक्तबहादुरले हाम्रो कोही छैन, तिमीहरू यतै आएर बस भनेपछि सुनिता आफ्नो परिवारसहित उनीहरूकै घरमा बस्न थालेकी थिइन् । सुरुका केही महिना एउटै भान्सामा बसे पनि पछि भक्तबहादुरले अलग हुन भनेपछि उनीहरू बरण्डामा भान्सा बनाएर छुट्टै बस्दै आएका थिए ।

विवादको जड यहीँबाट सुरु भएको देखिन्छ । सुनिताले आफ्नो बयानमा उल्लेख गरेअनुसार, भक्तबहादुरले उनलाई बारम्बार घर छाडेर जान दबाब दिने र सानातिना कुरामा घोचपेच गर्ने गर्दथे । यही ‘किचकिच’ र रिसइबीका कारण उनले यस्तो घातक कदम चालेको स्वीकार गरेकी छिन् । उनले बयानमा भनेकी छिन्, ‘ससुराले बारम्बार किचकिच गर्ने र घरबाट निस्किएर जा भन्ने गरेकाले सोही रिसइबी लिई निजहरू बिरामी हुन्, खर्च होस् र दुःख पाउनु भन्ने उद्देश्यले मात्र मैले विषादी हालिदिएकी हुँ । उनीहरूलाई मार्ने मेरो कुनै योजना वा मनसाय थिएन ।’ उनले करिब १५ दिनअघि बेलबारी हटियाबाट ४० रुपैयाँमा किनेर ल्याएको मुसा मार्ने सेतो धुलो विषादी तरकारीमा मिसाएको र बाँकी रहेको प्याकेट प्रमाण नष्ट गर्ने उद्देश्यले चुलोमा डढाएको समेत बताएकी छिन् ।

तर, घाइते ससुरा भक्तबहादुर राई र अन्य आफन्तहरूको बयान भने सुनिताको भन्दा फरक छ । भक्तबहादुरले जाहेरीमा उल्लेख गरेअनुसार सुनिताले उनीहरूको धनसम्पत्ति हडप्ने नियतले योजनाबद्ध रूपमा हत्याको प्रयास गरेकी हुन् । वृद्ध अवस्थाका सासु–ससुराको मृत्यु भएमा उनीहरूको नाममा रहेको घरजग्गा र सम्पत्ति आफ्नो हुने आशमा सुनिताले यस्तो कृत्य गरेको पीडित पक्षको आरोप छ । छिमेकी र अन्य साक्षीहरूले पनि सुनिताले पहिलेदेखि नै वृद्ध दम्पतीलाई दुःख दिने गरेको बताएका छन् । घटनास्थलमा वान्ता गरिएको ठाउँमा विषादीको कडा गन्ध आएको र सोही खाना खाएका तीनवटा कुखुरा समेत तत्कालै मरेको अवस्थामा फेला परेकाले विषादीको मात्रा निकै घातक रहेको पुष्टि भएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाउने क्रममा चुलोको खरानीभित्रबाट विषादीको स्टिल पेपरको पोका फेला पारेको थियो । जसमा कालो धुलोको कण बाँकी थियो । सरकारी वकिलको कार्यालयले सुनितामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूर (हत्या) र दफा १८३ बमोजिम ज्यान मार्ने उद्योग (प्रयास) को अभियोग लगाएको छ ।
अभियोग पत्रमा सुनितालाई जन्मकैदको सजाय र ज्यान मार्ने उद्योग अन्तर्गत थप १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको मागदाबी गरिएको छ । सुनिताले ‘मार्ने उद्देश्य थिएन’ भनेर जिकिर गरे तापनि कानुनतः ज्यान जान सक्छ भन्ने थाहा हुँदाहुँदै विषालु पदार्थ खुवाउनुलाई मनसायपूर्ण हत्याकै रूपमा हेरिने कानुनी आधारहरू रहेका छन् । एकै वारदातमा एकजनाको मृत्यु भएको र अर्का व्यक्ति गम्भीर घाइते भएकाले यसलाई एकीकृत कसूरका रूपमा पनि व्याख्या गरिएको छ ।

हाल सुनिता कारागार चलान भएकी छिन् भने घाइते भक्तबहादुर राई अस्पतालबाट डिस्चार्ज भएर घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । अब यो मुद्दाको अन्तिम फैसला जिल्ला अदालत मोरङले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।