विराटनगर । सुनसरीको लौकीमा सुरक्षाकर्मीको गोली प्रहारबाट सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनालाई लिएर विराटनगरको सीमा क्षेत्रमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। ‘जेन जी’ युवा समूह र सामाजिक अभियन्ताहरूको अगुवाइमा भएको उक्त प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादती र बढ्दो महँगीको विरुद्धमा प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरे ।
मोहम्मद जमशेद आलम नेतृत्वमा गएका प्रदर्शनकारीहरूले ‘गरीबी मेटाऊ, गरिब होइन’, ‘वर्दीले हत्या ढाक्न पाउँदैन’, ‘गोली होइन, कानून चलाऊ’ र ‘सीमामा मानव अधिकार चाहियो’ जस्ता माग गरे । उनीहरूले सुनसरी घटनाका दोषीलाई कारबाही गर्न र मृतक विजय साहको परिवारलाई न्याय दिन माग गरेका छन्।
प्रदर्शनका क्रममा बोल्दै सामाजिक अभियन्ता इशान खानले नेपालमा बढ्दो महँगीका कारण सर्वसाधारण मारमा परेको बताए। उनले भने, ‘नेपालमा सामानको मूल्य जोगबनीको तुलनामा दोब्बर छ, जसका कारण गरिब जनता दुई–चार किलो सामान ल्याउन सीमा पार गर्न बाध्य छन्। तर सीमामा उनीहरूलाई सुरक्षाको नाममा दमन गरिन्छ, महिलाहरूमाथि दुर्व्यवहार हुन्छ र घुसखोरी मौलाएको छ।’
प्रदर्शनकारीहरूले कर न्याय नै सामाजिक न्याय हो भन्दै सरकारको कर नीतिको पनि आलोचना गरे। उनीहरूले ठूला तस्करहरू उम्किने र आफ्नो गुजाराका लागि सामान्य सामान ल्याउने सर्वसाधारणले गोली खानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरे ।
उनीहरुले आफ्नो शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन्। उनीहरूले गृह मन्त्रालयलाई यस विषयमा गम्भीर हुन र सीमा सुरक्षाका नाममा नागरिकको ज्यान लिने कार्य बन्द गर्न आग्रह गरेका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।