लोड हुँदैछ...

मेनु

चौतर्फी आलोचनापछि रास्वपाको समानुपातिक बन्दसूचीबाट धमाधम नाम फिर्ता

चौतर्फी आलोचनापछि रास्वपाको समानुपातिक बन्दसूचीबाट धमाधम नाम फिर्ता

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा समावेश चर्चित व्यक्तिहरूले चौतर्फी आलोचनापछि उम्मेदवारी फिर्ता लिने क्रम बढ्दै गएको छ।

हालसम्म पहिचानवादी नेता महेन्द्र लावती, पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह र उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकालले सूचीबाट नाम हटाउने घोषणा गरेका छन्।

पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा नाम चलेका व्यवसायी र सेलिब्रेटी समेटिएपछि नातावाद, पारिवारिक सम्बन्ध र समानुपातिक प्रणालीको मर्ममाथि प्रश्न उठ्दै आलोचना चर्किएको थियो। यही पृष्ठभूमिमा उनीहरूले जनभावना र प्रतिक्रियालाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन्।

मुस्लिम पुरुष क्लस्टरको समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेका आशिफ शाहले सामाजिक सञ्जालमार्फत जनभावनामा चोट नपुगोस् भन्ने हेतुले सूचीबाट हट्ने निर्णय गरेको बताएका छन्। उनी रास्वापा नेता असीम साहका दाजु हुन्। उनकै घरमा रवि लामिछाने र वालेन साहको सहमति भएको थियो । उनका भाई रास्वापाबाट समानुपातिक सांसद थिए । उनले आगामी प्रत्यक्ष निर्वाचनमार्फत प्रतिस्पर्धा गर्ने इच्छा कायम रहेको स्पष्ट पारेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कोटाबाट सूचीमा परेका सचिन ढकालले संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्मको सम्मान गर्दै व्यक्तिगत कारणवश नाम फिर्ता लिएको बताएका छन्। भविष्यमा आवश्यक परे राष्ट्र र समाजका लागि राजनीतिक जिम्मेवारी लिन तयार रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

यस्तै गायिका डा. त्रिशला गुरुङले आत्ममूल्यांकनपछि राजनीतिक पदमा नजाने निष्कर्षमा पुगेको उल्लेख गर्दै कलाकारिता र स्वास्थ्य सेवामार्फत समुदायका लागि योगदान जारी राख्ने बताएकी छन्। त्यस्तै, टासी लाक्पा शेर्पाले दलगत राजनीतिमा रुचि नराख्ने जनाउँदै साधारण नागरिककै हैसियतमा देशका लागि काम गर्ने बताएका छन्।

कुलमान घिसिङको अगुवाइमा गठन भएको उज्यालो नेपाल पार्टीमा आबद्ध डा. महेन्द्र लावतीले पनि नाम फिर्ता लिएका छन् । आफुहरुसंग कुनै सल्लाह नगरी कुलमानले पार्टीलाई रास्वपामा मिसाएको भन्दै उनी असन्तुष्ट छन् ।

सूचीलाई लिएर विवाद जारी रहँदा पार्टी नेतृत्वले आयोगले दिएको समयभित्र सूची सच्याइने बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।