विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्य गर्न पीडित परिवार र स्थानीय प्रशासनबीच पाँच बुँदे सहमति भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार पीडित पक्षसँग भएको वार्तामा घटनाको छानबिन गर्ने र पीडित परिवारलाई राहत तथा रोजगारीमा सहयोग गर्ने सहमति जुटेको हो ।
सहमति अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन एक उच्चस्तरीय छानबिन समिति गठन गरिने भएको छ । मृतक साह घरको एक्लो कमाउने व्यक्ति भएकाले उनको परिवारको आर्थिक अवस्थालाई ध्यानमा राख्दै उनकी श्रीमतीलाई उपयुक्त रोजगारीका लागि प्रशासनले पहल गरिदिने सहमति भएको छ । त्यस्तै, मृतकका छोराले भविष्यमा सशस्त्र प्रहरी बलमा भर्ना हुने इच्छा राखेमा र उनको योग्यता पुगेको खण्डमा कानुन बमोजिम आवश्यक सहजीकरण गरिदिने आश्वासन समेत प्रशासनले दिएको छ ।
सहमतिसँगै पीडित परिवारले शवको पोस्टमार्टम गर्न र प्रहरीलाई शव हस्तान्तरण गर्न मञ्जुर भएको प्रजिअ घिमिरेले बताए । बुधबार राति करिब १ बजे भारतबाट सामान ल्याउँदै गर्दा सशस्त्र प्रहरीले चलाएको गोली लागेर साहको मृत्यु भएको थियो ।
सशस्त्र प्रहरीले तस्करको समूहसँगको झडपमा गोली चलेको दाबी गरे पनि स्थानीयले भने निहत्था व्यक्तिमाथि गोली प्रहार गरिएको भन्दै उग्र विरोध प्रदर्शन गरेका थिए । आक्रोशित भिडले लौकहीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) मा चारैतिरबाट घेरा हाली ढुंगामुढा र आक्रमण गरेपछि स्थिति निकै तनावग्रस्त बनेको थियो ।
स्थिति नियन्त्रण बाहिर जान लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेका थिए । स्थानीय प्रशासनले संयमता अपनाउन र वार्तामा आउन गरेको आग्रहपछि भएको यो सहमतिले लौकही क्षेत्रको तनाव कम हुने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले वार्ता सफल भएकाले अब आन्दोलन मत्थर हुने बताए । आन्दोलन भने रोकिएको छैन् ।
सहमतिमा के छ ?
१. छानबिन समिति गठन : घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
२. क्षतिपूर्तिको सिफारिस : छानबिन समितिको प्रतिवेदनमा सुरक्षा अधिकारीको लापरबाही देखिएमा नियमानुसारको राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको छ ।
३. रोजगारीको व्यवस्था : मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले आवश्यक पहलकदमी र सहजीकरण गर्ने सहमति भएको छ ।
४. छोरालाई सशस्त्र भर्नामा सहयोग : मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग र सहजीकरण गर्ने सहमति भएको छ ।
५. शव व्यवस्थापन : सहमति भएसँगै मृतकको शवलाई पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र त्यसपछि परिवारले दाहसंस्कार गर्ने सहमति भएको छ । सहमति पत्रमा स्थानीय प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पीडित पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।