विराटनगर । सशस्त्र प्रहरीको गोली लागेर एक सिटी सफारी चालकको मृत्यु भएपछि सुनसरीको लौकही क्षेत्र बिहीबार बिहानैदेखि तनावग्रस्त बनेको छ ।
गएराति (बिहीबार बिहान) करिब १ बजे कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।
प्रहरीको गोलीबाट साहको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनकारीहरूले मृतकको शव राजमार्गमै राखेर सशस्त्र प्रहरीको विरोधमा चर्को नाराबाजी गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार सशस्त्र प्रहरीले तस्करी नियन्त्रणका क्रममा जवाफी कारबाही गर्दा साहलाई गोली लागेको जानकारी प्राप्त भएको छ । घटनाको विस्तृत विवरण र सत्यतथ्य बुझ्ने काम भइरहेको बताए ।
राजमार्ग अवरुद्ध हुँदा सयौँको सङ्ख्यामा सवारी साधनहरू र यात्रुहरू बीच बाटोमै रोकिएका छन् । शव सडकमा राखेर भइरहेको प्रदर्शनका कारण लौकही क्षेत्रको अवस्था अहिले निकै तनावपूर्ण छ । स्थिति नियन्त्रणमा लिन र राजमार्ग सुचारु गराउन ठुलो सङ्ख्यामा जनपद प्रहरी परिचालन गरिएको छ । स्थानीय प्रशासनले प्रदर्शनकारीसँग वार्ताको प्रयास गरिरहेको जनाएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।