विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा बुधबार राति गोली लागेर एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।
सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) लौकही नजिकै पर्ने सो स्थानमा बुधबार राति करिब १ बजे गोली चलेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार, मध्यराति अपरिचित व्यक्तिले साहलाई लक्ष्य गरी गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका साहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले गोलीको खोका समेत फेला पारेको छ । सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै भएको यस घटनाले स्थानीयवासी त्रसित बनेका छन् ।
गोली कसले र किन चलाएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।‘हामीले घटनास्थलबाट केही प्रमाणहरू संकलन गरेका छौं र घटनाको गम्भीरतालाई हेर्दै विस्तृत अनुसन्धान अघि बढाएका छौं,’डीएसपी खड्काले भने
प्रहरीले शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको र सीमा क्षेत्रमा निगरानी बढाएको जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।