विराटनगर । विराटनगरमा छन्द वाटिका नेपाल र स्रष्टा समाज कोशी प्रदेशको संयुक्त आयोजनामा कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जन्म जयन्ती तथा नेपाल स्रष्टा समाजको १९ औँ स्थापना दिवस भव्य रूपमा मनाइएको छ ।
नेपाल स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद मार्सेलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरूले कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदान र नेपाली कविताको विकासमा उनको भूमिकाबारे चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा.डा. हरिहर भण्डारीले लेखनाथ पौड्यालका सिर्जनाहरूले नेपाली साहित्यलाई परिष्कृत र मर्यादित बनाउन ठुलो योगदान पुर्याएको बताए ।
कार्यक्रममा छन्द वाटिका नेपालका अध्यक्ष एवं समालोचक हरि कट्टेल र मुक्तक प्रतिष्ठानका अध्यक्ष एवं समालोचक बाबुराम पोखरेलले लेखनाथ पौड्यालको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पारेका थिए । वक्ताहरूले पौड्याललाई नेपाली साहित्यको ुपरिष्कारवादी धाराु का अग्रणी कविका रूपमा स्मरण गर्दै उनका काव्यिक विशेषताहरूको चर्चा गरेका थिए ।
सो अवसरमा विभिन्न कवि तथा कवयित्रीहरूले कवि शिरोमणिको सम्मानमा आफ्ना कविताहरू प्रस्तुत गरेका थिए । कविता वाचन गर्नेहरूमा उमानाथ भट्टराई, उमानाथ सागर, निर्मला कोइराला, ऋषि तिवारी, निर्मला नेपाल, पुष्पा सायरा, कविता चापागाईं, मञ्जु घिमिरे दाहाल, सविना श्रेष्ठ, प्रयाग न्यौपाने, रोहिणी रसिक, भूपाल अधिकारी, कुमार श्रेष्ठ, डोमी कामत, शारदा भट्टराई र हरि कट्टेल रहेका थिए ।
छन्द वाटिका नेपालले विगतदेखि नै भानुभक्त आचार्य, मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौड्यालजस्ता ऐतिहासिक साहित्यकारहरूको जन्म जयन्तीका अवसरमा विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस वर्ष पनि पुस शुक्ल एकादशीको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो ।
वि.सं. १९४१ साल पुस शुक्ल एकादशीका दिन कास्कीको अर्घौं अर्चलेमा जन्मिएका पौड्याल शास्त्रीय छन्दका सिद्धहस्त कवि हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।