लोड हुँदैछ...

मेनु

रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको ७ बुँदे सहमति (पत्रसहित)

रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको ७ बुँदे सहमति (पत्रसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच औपचारिक रूपमा राजनीतिक एकता गर्ने सहमति भएको छ। दुई पार्टीबीच भएको सात बुँदे सहमति अनुसार एकीकृत पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने र चुनाव चिन्ह ‘घण्टी’लाई नै निरन्तरता दिइने भएको छ।

काठमाडौँमा सम्पन्न सो सहमति पत्रमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। विशेष चासोको विषयका रूपमा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) यस सहमतिमा साक्षीका रूपमा रहेका छन्। उज्यालो नेपाल पार्टीको संरक्षक कुलमान घिसिङ रहँदै आएका थिए ।

सहमति पत्र अनुसार पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन्। त्यसैगरी, पार्टीको उपसभापति पदमा तीन जना रहने व्यवस्था गरिएको छ, जसमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, डिपी अर्याल र डा. स्वर्णिम वाग्लेको नाम समावेश गरिएको छ।

एकीकृत पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार र त्यसको बीचमा निलो रङको घण्टीको आकृति रहने सहमति भएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामै रहने जानकारी दिइएको छ।

सहमति पत्रमा ‘उज्यालो र आत्मनिर्भर अर्थतन्त्र’ तथा ‘मेरिटोक्रेसी’ को स्थापनालाई मुख्य प्राथमिकता दिइएको छ। अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम(आय भएको राष्ट्र बनाउने मार्गचित्रमा पार्टीले काम गर्ने प्रतिबद्धता जनाएको छ। साथै, भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनलाई मूल मन्त्र मान्ने दुई पक्षबीच सहमति भएको छ।

१. जेन–जी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै शहीद तथा घाइते परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने।
२. उज्यालो नेपाल अभियानका विज्ञ र युवा अभियन्ताहरूलाई योग्यता र सार्वजनिक छविका आधारमा पार्टीका संरचनामा समायोजन गर्ने।
३. यो सम्झौता बमोजिमको नयाँ व्यवस्थालाई निर्वाचन आयोगमा अद्यावधिक गर्ने।

सहमति पत्रको अन्त्यमा, वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई सुसंस्कृत राजनीतिक मुद्दा अघि बढाउन गोलबद्ध हुन आह्वान समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds