विराटनगर । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच दुई पार्टीका शीर्ष नेताहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका हुन् ।
सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ नै रहने र चुनाव चिह्न ‘तारा’ राख्ने सहमति भएको छ । यससँगै दुवै पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरू अब स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुनेछन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिसहित सम्पूर्ण साविकका संरचना र जनवर्गीय संगठनहरूलाई आपसी सहमतिका आधारमा नयाँ पार्टीमा समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ ।
एकीकृत पार्टीले संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य प्राथमिकता दिँदै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य लिएको छ । मुलुकको सार्वभौमिकता र अखण्डताको रक्षा गर्दै संघीय समाजवादी गणतन्त्र प्राप्तिका लागि सडक, सदन र सरकार तीनै क्षेत्रबाट संघर्ष गर्ने प्रतिबद्धता नेताहरूले जनाएका छन् । यसैगरी, वर्तमान संविधानका सकारात्मक पक्षहरूको रक्षा गर्दै नयाँ पुस्ताको भावना र राष्ट्रको हित अनुकूल संविधान संशोधन र परिमार्जनका लागि पहल गर्ने सहमति समेत भएको छ ।
विशेष गरी नागरिक उन्मुक्ति पार्टीले उठाउँदै आएको टीकापुर घटनाको विषयलाई पनि सहमतिमा समेटिएको छ । सहमतिपत्रमा टीकापुर घटनाका सन्दर्भमा राजनीतिक प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दाहरू खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने उल्लेख छ । यस्तै महिला, थारु, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम लगायतका सीमान्तकृत समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने विषयलाई पार्टीले मुख्य कार्यदिशा बनाएको छ ।
पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वका आधारमा जनवादी केन्द्रीयताको संगठनात्मक पद्धति अनुरूप सञ्चालन गरिने बताइएको छ । एकता घोषणासँगै नेताहरूले मुलुकका अन्य वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरूलाई पनि एउटै केन्द्रमा ध्रुवीकृत हुन अपिल गरेका छन् । विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनयुद्ध, थारु आन्दोलन र मधेश विद्रोहका उपलब्धिहरूको रक्षा गर्दै नयाँ राजनीतिक परिस्थिति अनुरूप अघि बढ्न यो एकता ऐतिहासिक कदम भएको दाबी गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।