विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) विराटनगरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विराटनगरका ११ विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
प्याब्सन विराटनगरको सोमबार भएको दोस्रो महानगर परिषद् भेलाका अवसरमा ती उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो ।
सम्मानित हुने विद्यार्थीहरूमध्ये ६ जना बीकेभीएम स्कुलका छन् । जसमा मौलिक ढकाल, अभियान राजवंशी, गौरव झा, नैतिक कुमार पोद्दार, प्रिन्सी साह र स्नेहल राज साह रहेका छन् । त्यस्तै, एभरेष्ट स्कुलका प्रेम खतिवडा र कृति गोयल, सगरमाथा स्कुलका शोभित न्यौपाने, जेम्स स्कुलका श्रीजी पोखरेल र कान्तिपुर स्कुलकी आयुषा कार्की सम्मानित भएका छन् । उनीहरूलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले नगद तथा प्रशंसापत्र प्रदान गरे ।

विद्यार्थीसँगै प्याब्सनले सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि सम्मान गरेको छ । विराटनगरलाई हरित नगरी बनाउन अभियान चलाइरहेकी सामाजिक अभियन्ता पारुल क्षेत्री र मलामीका लागि निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएका समाजसेवी करिम अन्सारीलाई नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै, तीन दशकभन्दा लामो समयदेखि विद्यालयको सवारी चलाउँदै आएका चालक इन्द्रबहादुर श्रेष्ठ र सहचालक भीमप्रसाद तिवारीलाई पनि दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । उनीहरूलाई महानगर प्रमुख कोइरालाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख कोइरालाले गुणस्तरीय शिक्षा प्रवाहमा निजी विद्यालयहरूको भूमिका उल्लेख्य रहेको चर्चा गरे । ‘निजी विद्यालयहरूले शैक्षिक स्तर उकास्न ठूलो योगदान दिएका छन्, जसको परिणाम स्वरूप आज विराटनगरका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्,’ उनले भने ।
प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहाल लगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति थियो ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।