काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फको बन्द सूची बुझाउन आज (सोमबार) सम्मको समयसीमा तोकेको थियो। सोही समयसीमाको अन्तिम दिन पार्टीको तर्फबाट सूची पेस गर्न कांग्रेस नेता मीनबहादुर विश्वकर्मालगायतका नेताहरू कान्तिपथस्थित निर्वाचन आयोग पुगेका हुन्।
आजै बिहान बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशबाट प्राप्त नामहरू र समावेशिताका आधारमा तयार पारिएको समानुपातिकतर्फको सूचीलाई अन्तिम रूप दिँदै अनुमोदन गरेको थियो। कार्यसम्पादन समितिले निर्णय गरेलगत्तै कांग्रेस नेताहरू नामावली बोकेर आयोग पुगेका हुन्।
आयोगले आज पुस १४ गते कार्यालय समयभित्र बन्द सूची बुझाउन राजनीतिक दलहरूलाई आह्वान गरेको थियो। फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूले बुझाएको यो सूचीमा पछि तोकिएको समयभित्र आवश्यक सच्याउन पाउने प्रावधान समेत रहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।