लोड हुँदैछ...

मेनु

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ : यादव

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ : यादव

विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा लैजानुपर्ने बताएका छन् ।

जसपाले विराटनगरबाट सुरु गरेको प्रदेशस्तरीय सभालाई शनिबार सम्बोधन गर्दै यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा राजनीतिक स्थिरता ल्याउन सक्ने दाबी गरे ।

‘यो संसदीय प्रणाली नेपालका लागि उपयुक्त छैन । यसले राजनीतिक स्थिरता दिन सक्दैन,’ यादवले भने, ‘संसदीय प्रणालीकै कारण विगत १० वर्षमा १४ पटक सरकार फेरियो । राजनीतिक अस्थिरताका कारण मुलुकको विकास अवरुद्ध भयो ।’ उनले अब संसदीय व्यवस्थालाई अन्त्य गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताए ।

शक्ति सन्तुलनको नयाँ मोडल आवश्यक रहेको उल्लेख गर्दै यादवले संसदलाई कानुन निर्माण र बजेट तर्जुमामा सीमित गर्नुपर्ने धारणा राखे । ‘विज्ञहरूको टोलीमार्फत राष्ट्रपतिले सरकार सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था भए मात्र सरकार जनताप्रति उत्तरदायी हुन्छ र नीतिगत स्थिरता कायम हुन्छ ।’

अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणालीलाई भ्रष्टाचारको जननीको संज्ञा दिए । संसारकै गरिब मुलुकमध्ये एक नेपालमा संसारकै महंगो निर्वाचन प्रणाली थोपरिएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘अहिलेको निर्वाचन प्रणाली यति महँगो छ कि सामान्य र इमानदार व्यक्तिले चुनाव लड्ने कल्पना पनि गर्न सक्दैन,’ उनले भने, ‘यो खिचडी निर्वाचन प्रणाली हटाएर अब पार्टी र उम्मेदवारले करोडौँ खर्च नगरी चुनाव जित्न सक्ने व्यवस्था हुनुपर्छ ।’

यादवले निर्वाचन प्रणालीमा सुधार नआएसम्म इमानदार व्यक्ति राजनीतिबाट विस्थापित हुँदै जाने र भ्रष्टाचार संस्थागत हुने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।