लोड हुँदैछ...

मेनु

फागुन २१ को निर्वाचनमा सहभागी ओली र देउवा पनि तयार

फागुन २१ को निर्वाचनमा सहभागी ओली र देउवा पनि तयार

विराटनगर । आउँदो फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि तयार भएका छन् ।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकमा नेपाली कम्युनिष्ट पार्र्टीका संयोजक प्रचण्डसँगै ओली र देउवाले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यसअघि एमाले अध्यक्ष ओलीले निर्वाचन नहुने र यो सरकारलाई निर्वाचन गर्ने अधिकार पनि नभएको भन्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने अडान राख्दै आएका थिए । प्रतिनिधिसभा पुनःस्थापनाको लागि एमालेका सांसदहरुबाट सर्वोच्च अदालतमा रिट दायर गरेका ओलीले काँग्रेस सभापति देउवालाई पनि त्यसमा साथ दिन आग्रह गरेका थिए । प्रतिनिधिसभा पुनःस्थापना भए प्रधानमन्त्री बन्न पाउने आश्वासनको कारण देउवाले पनि पार्टी निर्णयविपरित आफ्ना सांसदलाई सर्वोच्चमा रिट हाल्न पठाएपछि चुनाबबारे अन्यौल कायम भएको थियो ।

शनिबारको बैठकमा भने ओली र देउवाले पनि चुनाबमा जाने सहमति जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन् । बैठकपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल निर्वाचनका लागि तयार रहेको बताए। “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं। कांग्रेस पनि रेडी छ, एमाले पनि रेडी छ, अरु दल पनि रेडी छन्,” उनले भने।

बैठकमा नेताहरुले निर्वाचन सफल बनाउन सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने बताएका थिए । एमालेका अध्यक्ष ओलीले सुरक्षाको वातावरण बनेमा एमले चुनाबमा जान तयार रहेको बताएका थिए । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले निर्वाचनमा सहभागी हुने निर्णयसहित आफ्नो पार्टीले उम्मेदवारको सिफारिस गरिसकेको उल्लेख गर्दै सरकारले वातावरण निर्माण गर्नुपर्ने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री कार्कीले राष्ट्रपतिबाट प्राप्त कार्यादेशअनुसार सरकारले निर्वाचनको तयारी तीव्र पारेको बताइन् । चुनावमा पूर्ण रूपमा केन्द्रित हुन आफूले रक्षाबाहेकका अन्य मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीहरूलाई सुम्पिएको जानकारी दिँदै उनले निर्वाचन सफल बनाउन सबै दलको सहकार्य आवश्यक रहेको उल्लेख गरिन् ।

प्रधानमन्त्रीले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधनको व्यवस्था गरिएको बताउँदै स्थिर र दिगो लोकतन्त्रका लागि निर्वाचन सफल पार्न सबै दललाई आह्वान गरिन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।