विराटनगर । मोरङको कटहरी गाउँपालिका परिसरमा शुक्रबार दिउँसो १ बजे सेताम्मे फुलेका केश र अनुभवले खारिएर चाउरी परेका अनुहारहरूको बाक्लो जमघट थियो। कोही थरथराउँदा हातले लौरो टेकेर ताँती लागेका थिए त कोही नाति–नातिनीको काँधमा हात राखेर बिस्तारै पाइला चाल्दै थिए। यो दृश्य थियो– पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको। जहाँ ८५ वर्ष कटेका ६० जना वृद्धवृद्धाहरू पालिकाको निम्तो मान्न आइपुगेका थिए।
तराइमा पुसको सितलहर सुरु भइसकेको बेला ती वृद्ध शरीरहरूलाई न्यानोपनको खुबै खाँचो थियो। भीडको अघिल्लो लहरमा थिइन्, ९० वर्षीया चन्द्रीदेवी सरदार। कटहरी–५ की चन्द्रीदेवी शान्त थिइन्, तर उनका आँखामा एउटा व्यग्र प्रतीक्षा थियो। जब गाउँपालिका अध्यक्ष देवराज चौधरीले एउटा नयाँ निलो रङको फाइबर सिरक उनलाई ओढाइदिए, चन्द्रीदेवीको अनुहार एकाएक उज्यालो भयो।

त्यो चमक कुनै बहुमूल्य धातु पाएको खुसी थिएन, बरु राज्यले आफूलाई ‘सम्झिएको’ गर्वको प्रतिविम्ब थियो। “यो पुसको जाडोमा राति निद्रा लाग्दैनथ्यो,” सिरक ओढेपछि उनले भनिन्, “अब त न्यानो गरी सुत्न पाइने भयो।” घरमा छोरा–नाति भए पनि स्थानीय सरकार अभिभावक बनेर सम्झिँदा उनले आफूलाई एक्लो महसुस गरिनन्।

उनीसँगै थिइन्, कटहरी–२ की ८६ वर्षीया अप्सरा प्रसाईं। नातिनीको हात समातेर सिरक लिन पुगेकी अप्सराले खुसी हुँदै भनिन्, “बुढेसकालमा हामीलाई चाहिने भनेकै यस्तै माया र सम्मान हो। जाडोमा सिरक बाँडेर सरकारले ठूलो पुण्यको काम गर्यो।”

प्रायः सरकारी राहत वितरणका कार्यक्रमहरू रूखा र फोटो खिचाउने औपचारिकतामा मात्र सीमित हुन्छन्। तर, शुक्रबार कटहरीमा आत्मीयता झल्किन्थ्यो। गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी र वडाध्यक्ष हरिनारायण राजवंशीले पालैपालो वृद्धवृद्धाहरूको नजिकै पुगेर सिरक ओढाइदिँदा एउटा पारिवारिक माहोल देखिन्थ्यो। “हाम्रा ज्येष्ठ नागरिकहरू इतिहास र ज्ञानका खानी हुन्, उनीहरूको सम्मान गर्नु हाम्रो धर्म हो,” अध्यक्ष चौधरीले भने।
कार्यक्रम केवल सिरक ओढाएर मात्र सकिएन। टाढा–टाढाबाट आएका ती थाकेका शरीरहरू भोकाएको हुनसक्ने अनुमान गर्दै पालिकाले खाजाको व्यवस्था गरेको थियो।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।