१. सन १८९३ डिसेम्बर २६ तारिखका दिन चीनको हुनान प्रान्तमा जन्मेका थिए, माओ त्सेतुङ। डा. सन यात्सेन नेतृत्वको कोमिन्ताङ पार्टी हुँदै राजनीतिक जीवन सुरु गरेका माओ सन १९२१ मा स्थापित चिनियाँ कम्युनिस्ट पार्टीको एक संस्थापक सदस्य थिए। सन १९१७ मा सम्पन्न सोभियत समाजवादी क्रान्तिको प्रभावस्वरुप चीनका युवा तथा प्रगतिशील बुद्विजीविहरु कम्युनिस्ट पार्टी स्थापनामा अघि बढेका थिए।
डा. सन यात्सेन जीवित रहँदासम्म चिनियाँ कम्युनिस्ट पार्टीले कोमिन्ताङ मोर्चामा सहभागिता जाहेर गर्यो। जसमा माओले नै प्रतिनिधित्व गरेका थिए। तर, सन १९२४ मा कोमिन्ताङको राष्ट्रिय अधिवेशनसंगै सन यात्सेनको निधन हुन पुग्यो र कोमिन्ताङ प्रमुखमा च्याङ काईशेक आए। मिस्टर च्याङ्ले तुरुन्तै जापानी साम्राज्यवादसंग आत्मसमर्पण गर्यो र कम्युनिस्ट पार्टीसंग दुस्मनीको बाटो लियो। अब कम्युनिस्ट पार्टी आफ्नै तरिकाले हिंड्न बाध्य बन्यो।
पार्टी प्रमुख छन तुश्यु मध्यपन्थी प्रवृत्तिका थिए भने प्रभावशाली पीबीएम वाङ मिङ र ली लिशान वाम प्रवृत्तिका। वाङ र लीको भड्कावमा सन १९२७ मा चिनियाँ कम्युनिस्ट पार्टीले रुसको जस्तै शहरिया विद्रोह गर्यो। जसप्रति माओको कडा मतभेद थियो। परिणामस्वरुप साङ्घाई र बेइजिङ विद्रोहमा अढाई लाख कम्युनिस्ट पार्टी सदस्यहरु मारिए। विद्रोह साफ असफल भयो।
त्यसपछि बचेका केन्द्रीय सदस्यहरुको बैठक बस्यो। समिक्षा बैठकमा माओको विचार के हो, भन्नेवारे जिज्ञासा बढ्यो। ३५ बर्षीय माओले भने- रुस जस्तो औद्योगिक मजदुरको मुलुक होइन चीन। चीन त करोडौं गाउँले किसानको मुलुक हो। त्यसैले चिनियाँ क्रान्ति गाउँबाट सुरु गर्नुपर्छ, शहरमा होइन।
अब के गर्नुपर्छ, भन्दा माओले भने- किसान संगठन गर्नुपर्छ, गाउँ-गाउँमा गएर किसान सेना गठन गर्दै स्थानीय सामन्तको सत्ता कब्जा गर्दै शहर घेर्ने दीर्घकालीन युद्वको नीति लिनुपर्छ। पार्टीले माओको रणनीतिवारे सकारात्मक विचार गर्यो र माओकै नेतृत्वमा अखिल चीन किसान संघ गठन गरियो।
माओ त्सेतुङ आफ्ना कमरेडहरुसंग लागे हुनानका किसानहरुको गाउँवस्तीतर्फ। यसरी सुरु भयो, माओको मौलिक विचारमा चीनको दीर्घकालीन जनयुद्व।
राष्ट्रिय आत्मसपर्मणवादी गद्दार च्याङ काईशेक सरकारले कम्युनिस्ट क्रान्तिकारी विरुद्व भीषण दमन गर्यो। परन्तु, माओ रणनीति अनुसार गाउँले ईलाकामा राज्यसत्ता कमजोर थियो र १९२७ को शहरिया विद्रोहमा जस्तो कम्युनिस्टहरु शखाप भइहाल्दैनथे। तदनुरुप अघि बढ्ने र पछि हट्ने फौजी रणनीतिमा हान्ने र भाग्ने छापामार युद्व विस्तार हुँदै रह्यो।
त्यही सिलसिलामा फ्रान्सबाट पढाइ सकेर आएका चाओ अनलाय, जो फ्रान्समै कम्युनिस्ट विचारका चिनियाहरुको संगठन गरिरहेका थिए, माओसंग भेटेर क्रान्तिमा समर्पित भए। साम्राज्यवादी दलाल च्याङको सत्तासंग विद्रोह गरेर आफ्नो फौजसहित ब्रीगेडियर चु तेह माओसंग मिल्न आए। यसरी गठन भयो, चिनियाँ जनमुक्ति सेना। जसका निमित्त माओले निर्माण गरे- अनुशासनका तीन नियम र ध्यान दिनुपर्ने आठ कुरा।
जापान र च्याङ काईशेकको संयुक्त सरकारी दमन चर्किँदै गयो।
त्यस विरुद्व माओले राष्ट्रिय जनजागरण सुरु गरे, लम्बे अभियान (Long march) सन १९३४ मा। जुन, पूर्वी चीनबाट पश्चिम चीनको अभियान थियो। जसले, १२ हजार ५०० किलोमिटरको युद्वयात्रा लड्यो। लम्बे अभियान प्रारम्भमा १ लाख जनमुक्ति सेना हिँडेका थिए, तर समापनका बेला ७ हजार मात्र बचेका थिए। जनमुक्ति सेनाको ठुलो संख्या युद्वमा मारिए। कतिले खान नपाएर प्राण त्यागे। त्यसै समय हो, माओको आदेशमा जनसेनाले छालाको बुट उसिनेर झोल पिउदै ज्यान बचाउदै सामन्तवाद र साम्राज्यवादका विरुद्व राष्ट्रिय जनक्रान्तिकारी युद्व लडेको। पाठकहरु, जसको एक संश्लेषित वीरगाथा हो, संक्षेप उपन्यास- चम्किलो रातो तारा।
अत्यन्तै मार्मिक प्रसंग, उत्तरपश्चिम चीनमा जनसेना पुग्दै गर्दा कुनै बेलुका माओकी श्रीमती सुत्केरी भइन। पर्खेर बस्ने या सुत्केरीलाई छोडेर हिँड्ने कुरा भएन। माओ दम्पतिले कठोर निर्णय लिए- २४ घण्टा पनि नपुगेको शिशु एक किसान परिवारलाई जिम्मा दिएर श्रीमतिसहित माओ क्रान्तिको बाटो लागे।
अर्को प्रसंग, जनसेनाको सम्मानमा गाउँले किसानले डोकोमा भारीका भारी सुन्तलासहित बाटोमा पर्खेर बसेका थिए। प्रत्यक डोकोमा एक-एक वटा ठूलो सुन्तला राखिएको हुन्थ्यो। तर, जनसेना कसैले पनि त्यो ठूलो सुन्तला टिपेर खाएनन्।
किसानले जनसेनालाई सोधे- सुन्तलाको यो ठूलो दाना किन नलिनु भएको?
जनसेनाको जवाफ थियो- त्यो कमरेड माओलाई राखी दिएको हो।
वास्तवमा, किसानको परिक्षामा जनसेना ईमानदार ठहरिए।
यसरी माओ नेतृत्वको जनसेनालाई गाउँले किसानले देश र जनताका लागि भरोसा लाग्दो शक्तिमा विस्वास गरे।
अर्को प्रसंग, लम्बे अभियानका दौरान माओले जातिहरुको स्वायत्त सरकार गठन गर्दै हिंडे। तर, अल्पसंख्यक जातिका कमरेडलाई पृष्ठभागको जिम्मा दिइन्थ्यो, अग्रभाग होइन। अल्पसंख्यक जातिका कमरेडहरु रुष्ट बने र आफुहरु पनि जनसेनाको अग्रभागमा बसेर लड्न योग्य रहेको भन्दै आक्रोश पोखे। बोलाएर माओले सम्झाए- तपाइँहरु अग्रभागमा लड्न अवश्य सक्नु हुन्छ। तर, देशमा तपाईंँका जातिको संख्या ज्यादै कम छ। तपाइँहरु सहिद भएमा तपाइँका जातिको नेता को बन्छ? जबकि प्रत्यक जातिले आफ्नो जातीय नायक खोज्दछ। तर, देशमा हान जातिको संख्या धेरै छ। त्यसैले हान जातिका कमरेडहरु जत्ति सहिद भए पनि हान नेताको कमी हुँदैन। यसरी तपाइँहरुले पृष्ठभागमा बसेर लड्नु पर्छ। जसले गर्दा तपाइँका जातिको हित रक्षा हुन सकोस्।
दिवङ्गत प्राध्यापक अखिलेश्वर लालदासका अनुसार आफ्नो जीवनमा माओले तीन क्रान्ति लडे। ती थिए- सामन्तवाद र साम्राज्यवाद विरुद्व नयाँ जनवादी क्रान्ति, दलाल पुँजीवाद विरुद्व समाजवादी क्रान्ति र अन्तर्राष्ट्रवादी सर्वहारा साँस्कृतिक क्रान्ति ।
माओ नेतृत्वको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको लडाइँको जगमा आजको चीन खडा भयो।
२. नेपाली कम्युनिस्ट पार्टीले आफ्नो संक्षिप्त घोषणापत्रमा माओका योगदानहरुको सम्मान उल्लेख गरेको छ। माओ त्सेङका ती वैचारिक योगदानहरु हुन:
क. दर्शनको क्षेत्रमा विपरीतहरुवीच एकता र एकको दुईमा विभाजनको नियम। जुन, अन्तर्विरोधवारे रचनामा पढ्न पाईन्छ। मार्क्स-एङगेल्सले हेगेलको द्वन्दवादको तीन नियमलाई नै द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको नियम सदर गरेका थिए। ती थिए- विपरीतहरुवीच एकता र संघर्षको नियम, मात्राको गुणमा परिवर्तनको नियम र निषेधको निषेध नियम। परन्तु, माओले त्यसलाई अझ संश्लेषण गरेर एक नियम किटान गरे- विपरीतहरुवीच एकता र एकको दुईमा विभाजनको नियम।
ख. राजनीतिक अर्थशास्त्रमा दलाल पुँजीवाद विरुद राष्ट्रिय पुँजी निर्माणको नियम। मार्क्सले पुँजीवादको नियम उदघाटन गरे भने लेनिनले साम्राज्यवादको। माओले चीन जस्तो अर्ध-सामन्ती र अर्ध-औपवेशिक मुलुकमा दलाल पुँजीवादी अर्थतन्त्रले घर गरेको हुन्छ र त्यस विरुद्व देशभक्त चरित्रको पुँजीको संरक्षण र विकास गर्नुपर्छ, भन्ने नियम निर्माण गरे। भनिरहनु पर्दैन, नव-औपनिवेशिक मुलुकमा पनि माओकै अर्थशास्त्रको नियम प्रयुक्त हुन्छ।
ग. वैज्ञानिक समाजवाद अर्थात राज्यसत्तावारे निरन्तर क्रान्ति। माओ अघि कम्युनिस्ट आन्दोलनको लक्ष्य राज्यसता लिनुसम्मको थियो। त्यहाँबाट सहजै राज्य विलोपीकरणतर्फ फड्को मारिन्छ, भन्ने दृष्टिकोण थियो। तर, सोभियत समाजवादमा स्टालिनको ३० प्रतिशत कमजोरी र ख्रूश्चेभको दक्षिणपन्थी विसर्जनले राज्य विलोपीकरण रणनीतिमा संकट उत्पन्न गर्यो।
अत: माओले नयाँ समाधान प्रस्तुत गरे- कम्युनिम्स्टले सडकमा हुँदा राज्यसत्ताको लागि क्रान्ति गर्नुपर्छ, राज्यसत्ता लिएपछि सर्वहारा साँस्कृतिक क्रान्ति गर्नुपर्छ। जबसम्म राज्य विप्लोपीकरण अर्थात साम्यवादी समाजव्यवस्था बन्दैन, तबसम्म क्रान्ति गर्नुपर्छ, भनेर निरन्तर क्रान्तिको सिद्वान्त विकसित गरे। जुन, माओको वैज्ञानिक समाजवादमा योगदान हो।
३. दलाल तथा एकलजातीय पुँजीवाद विरुद्व संघर्षको ऐतिहासिक परिस्थितिमा नेपालमा हामी नेपाली कम्युनिस्ट पार्टीको झण्डामा जुटिरहेका छौं। जसका निमित्त हामीले प्रस्ताव गरेका छौं- मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा विकसित समाजवादी लोकतन्त्र।
अत: नेपाली कम्युनिस्टले राज्यसत्तामा दलाल तथा एकलजातीय पुँजीवाद विरुद्व संघर्षलाई तेज पार्नुछ भने पार्टी संगठनभित्र निम्न-पुँजीवादी व्यक्तिवाद विरुद्व कठिन संघर्ष लड्नु छ। निम्न-पुँजीवाद विरुद्व लडेर पार्टीलाई सुदृढ गर्न सकिन्छ भने दलाल पुँजीवाद विरुद्व लडेर पाँच जनसमुह (वर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तहरु) को राज्यव्यवस्था निर्माण एवं पश्चिमा साम्राज्यवादको प्रकोपबाट गणतन्त्र नेपालको स्वाधीनता अछुण्ण राख्न सकिन्छ।
उपरोक्त लक्ष्यमा सफलताका लागि १३३ औं माओ दिवशको अवसरमा, खासगरी युवा पुस्ताका साथीहरुमा लाल अभिवादनको शुभकामना।
२६ डिसेम्बर २०२५, सुकुमवासी वस्ती, मनोहरा, भक्तपुर




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।