काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओत्सेतुङको १३३ औं जन्मजयन्तीको अवसरमा एक विशेष सन्देश जारी गर्दै अबको मुख्य लक्ष्य समाजवादी क्रान्ति भएको उद्घोष गर्नुभएको छ। उहाँले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई सानातिना मतभेद त्यागेर एकताबद्ध हुन अपिल गर्दै माओका विचारहरू आजको सन्दर्भमा अझ बढी सान्दर्भिक रहेको उल्लेख गर्नुभएको छ।
शुक्रबार जारी गरिएको शुभकामना सन्देशमा प्रचण्डले विश्व साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको र राष्ट्रिय सार्वभौमिकतामाथि चुनौती थपिएको विश्लेषण गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “माओले देखाउनुभएको बाटो केवल इतिहासको विषय मात्र होइन, बरु राष्ट्रिय स्वाधीनताको रक्षा, उत्पीडित वर्गको मुक्ति र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने आजको व्यावहारिक मार्गदर्शन पनि हो।”
प्रचण्डले कम्युनिष्ट आन्दोलनभित्र देखिने अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावाद जस्ता प्रवृत्तिहरू विरुद्ध निर्मम वैचारिक सङ्घर्ष गर्न आवश्यक रहेको बताउनुभएको छ। यस्ता नकारात्मक प्रवृत्तिहरूलाई परास्त नगरी समाजवादी क्रान्ति सफल हुन नसक्ने उहाँको ठहर छ। नेपालमा सामन्तवाद अन्त्यको एउटा चरण पूरा भइसकेकाले अब मार्क्स, लेनिन र माओका योगदानलाई नेपाली क्रान्तिकारी अनुभवसँग संश्लेषण गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
सन्देशको अन्त्यमा, संयोजक प्रचण्डले सार्वभौम, आत्मनिर्भर र समानतामूलक समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण वामपन्थी तथा क्रान्तिकारी शक्तिहरूलाई एकजुट हुन सार्वजनिक अपिल गर्नुभएको छ। विचारमा स्पष्टता र व्यवहारमा एकता कायम गर्नु नै माओ दिवस मनाउनुको वास्तविक सार्थकता हुने उहाँको सन्देशमा उल्लेख छ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।