लोड हुँदैछ...

मेनु

विराटनगरमा क्षयरोगमुक्त अभियान अन्तर्गत खोजपड्ताल शिविर

विराटनगरमा क्षयरोगमुक्त अभियान अन्तर्गत खोजपड्ताल शिविर

विराटनगर । क्षयरोगमुक्त अभियान नेपाल अन्तर्गत विराटनगर महानगरपालिकामा सञ्चालन भइरहेको ‘क्षयरोग मुक्त पालिका कार्यक्रम’ अन्तर्गत सक्रिय क्षयरोग खोजपड्ताल शिविर सञ्चालन भएको छ ।

महानगरपालिकाको आयोजनामा स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजको प्राविधिक सहयोगमा पुस १ देखि ५ गतेसम्म वडा नं. ४, ८, १२, १४ र १७ मा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा क्षयरोगको उच्च जोखिममा रहेका लक्षित समुदायका व्यक्तिहरूको आधुनिक प्रविधिबाट स्वास्थ्य परीक्षण गरिएको थियो । एआई प्रविधि जडित एक्स–रे र खकार परीक्षणमार्फत स्क्रिनिङ गर्दा ७९४ जनाको एक्स–रे गरिएको र १५० जनाको खकार संकलन गरी थप परीक्षणका लागि पठाइएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

महानगर स्वास्थ्य संयोजक डा. दिलिपकुमार यादवका अनुसार स्क्रिनिङका क्रममा पाँच जना नयाँ क्षयरोगी (पीसीडी) पहिचान भएका छन् । पहिचान भएका बिरामीलाई तत्काल उपचार प्रक्रियामा समावेश गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने डट्स प्रणालीअनुसार उपचार सुरु गरिएको छ ।

शिविर सञ्चालनमा महानगरपालिकाको स्वास्थ्य महाशाखा, क्षयरोग कार्यक्रम संयोजक, सम्बन्धित वडाका आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सक्रिय सहभागिता रहेको थियो । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र लेखा अधिकृत सञ्जिबकुमार भट्टराईले शिविरको अनुगमन गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका थिए ।

महानगरपालिकाले यस्ता लक्षित खोजपड्ताल कार्यक्रमले लुकेका क्षयरोगी पहिचान गर्न, समयमै उपचार सुरु गर्न र क्षयरोग उन्मूलनको राष्ट्रिय लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।