विराटनगर । विराटनगर महानगरपालिका–११ जनपथटोलको भित्री सडक खण्डमा मंगलबार बिहान दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०२–०५७ प २२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा प्र–१–०२–०५७ प २२०३ नम्बरको मोटरसाइकल चालक सुनसरीको गढी गाउँपालिका–२ निवासी २३ वर्षीय शेखर यादव गम्भीर घाइते भएका थिए । टाउको र मुखमा चोट लागेका यादवलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बिहान ९ः१० बजे नोबेल अस्पताल पठाइए पनि चेकजाँचका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
अर्को मोटरसाइकल प्र–१–०४–००२ प ०९७६ नम्बरका चालक विराटनगर महानगरपालिका–११ निवासी ३९ वर्षीय सुदन भट्टराई सामान्य घाइते भएका छन्। उनको दाहिने हातको औँला र खुट्टामा चोट लागेको र उपचारका लागि मोरङ सहकारी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी बखरीबाट प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईको नेतृत्वमा खटिएको टोलीले दुवै मोटरसाइकल नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय विराटनगरमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।