विर्तामोड । मध्य दक्षिणी झापाका सीमावर्ती नाकाबाट क्वारेनटाइन जाँचबिनै र भन्सार छलेर भारतीय माछा नेपाल भित्रिने क्रम निरन्तर चलिरहेको छ ।
पटक–पटक ठूलो परिमाणमा माछा बरामद भइरहे पनि अवैध ओसारपसारमा संलग्न गिरोह सक्रिय रहनुले सुरक्षा संयन्त्र र प्रशासनिक इच्छाशक्तिमाथि गम्भीर प्रश्न उठिरहेको छ ।
झापा गाउँपालिका–१ स्थित लसुना र रसुनगञ्ज नाकालाई केन्द्र बनाएर भारतीय माछा भित्र्याउने संगठित सञ्जाल सक्रिय छ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुँदाहुँदै पनि माछा तस्करी निरन्तर भइरहनुले मिलेमतो रहेको स्थानीयले बताउँदै आएका छन् ।
स्थानीयको चर्को दबाबपछि आइतबार दिउँसो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले झापा गाउँपालिका–४ नयाँ बस्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा भित्र्याइएको करिब १२० केजी सिलङ माछा बरामद गरेको छ । मोटरसाइकलमार्फत ओसारिँदै गरिएको अन्दाजी ५० हजार रुपैयाँ बराबरको माछा नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसअघि पनि मङ्सिर २१ गते विशेष सूचनाका आधारमा प्रहरीले ४१७ केजी भारतीय माछा बरामद गरेको थियो । कनकाई नगरपालिका–३ स्थित सव–डिभिजन वन कार्यालय नजिकै सवारी साधनमा हालेर सुरुङ्गातर्फ लैजान लागिएको अवस्थामा अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको माछा नियन्त्रणमा लिइएको थियो ।
बरामद माछामा मुङ्ग्री, सिलन, रहूँ र बम्प्लेट जातका माछा थिए । तीमध्ये मुङ्ग्री नेपालमा प्रतिबन्धित प्रजातिमा पर्छ ।
प्रहरीका अनुसार कारोबारीहरूले सीमामै माछाका कार्टुन खोलेर झोलामा राखी मोटरसाइकलमार्फत स–साना परिमाणमा नेपाल भित्र्याउने र भित्र सुरक्षित स्थानमा भण्डारण गरी पछि ट्याम्पो वा पिकअपमार्फत सुरुङ्गा, बिर्तामोडजस्ता बजारसम्म पु¥याउने गरेका छन् । यसरी चरणबद्ध ढङ्गले ओसारपसार गर्दा सुरक्षाकर्मीको निगरानी छल्न सजिलो हुने गरेको बताइन्छ ।
सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाका सशस्त्र प्रहरीकै मिलेमतोमा माछा तस्करी भइरहेको स्थानीयको आरोप छ । यसअघि कात्तिकमा प्रतिबन्धित माछा बोकेको पिकअप भ्यान स्थानीयले नियन्त्रणमा लिए पनि पछि प्रहरीले छाडेको घटनाले विवाद चर्काएको थियो । उक्त घटनामा घुमुवा प्रहरी सहायक हवलदारले तस्करलाई जोगाएको आरोप लागेपछि प्रहरी–तस्कर मिलेमतोको आशङ्का थप गहिरिएको थियो ।
अवैध रूपमा भित्रिने भारतीय माछाले स्थानीय माछा किसान र व्यवसायी प्रत्यक्ष मारमा परेको बताउँछन् । सस्तो भारतीय माछाका कारण स्थानीय उत्पादन बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ ।
झापाको बिर्तामोड नगरपालिकाले भारतबाट आयातित मरेका माछा बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले स्वास्थ्य जोखिम, गुणस्तरहीन माछा र स्थानीय उत्पादन संरक्षणलाई निर्णयको आधार बनाएको जनाएको छ ।
तर। सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण नभएसम्म स्थानीय तहको निर्णय मात्र पर्याप्त नहुने सरोकारवालाको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।