लोड हुँदैछ...

मेनु

केही भन्नु छ !

संसदवादी जडताबाट मुक्त र जेनजी आन्दोलनका प्रश्नमा खरो उत्रिने पार्टी बनाइने

संसदवादी जडताबाट मुक्त र जेनजी आन्दोलनका प्रश्नमा खरो उत्रिने पार्टी बनाइने

जेन–जी आन्दोलनपछिको राष्ट्रिय संकट समाधान गर्न सक्षम शक्ति निर्माण, पार्टीहरूभित्र मौलाउँदै गएको व्यक्ति–केन्द्रित किचलोको अन्त्य, र बरालिएको विखण्डित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवादी क्रान्तिको बाटोबाट जनअपेक्षा पूरा गर्नु—आज नेपाली कम्युनिस्ट पार्टी निर्माणको ऐतिहासिक आवश्यकता बनेको छ।

यो केवल संगठनात्मक पुनर्संरचना होइनस नेपाली विशेषतासहितको समाजवादी क्रान्तिको स्पष्ट कार्यदिशा तय गर्ने निर्णायक क्षण हो।

जेन–जी आन्दोलन रूसको १९०५ को विद्रोहसँग पूर्णतः मेल नखाए पनि, नयाँ विश्व परिवेशअनुसारको समाजवादी रूपान्तरणको एक पूर्वाभ्यासका रूपमा बुझिनुपर्छ। यहाँ ऐतिहासिक समानताभन्दा पनि यसको राजनीतिक संकेत र सन्देशलाई आत्मसात गर्नु मुख्य प्रश्न हो।

यसर्थ, जेन–जी आन्दोलनको मर्म र भावनाको औपचारिक समर्थन मात्र पर्याप्त छैन—यसको स्पिरिट व्यवहारमा उतार्नु नै वास्तविक परीक्षा हो। संविधान निर्माणपछिका चरणमा राजकीय जिम्मेवारीमा रहेकाहरूका काम–कारबाहीप्रति जेन–जीले उठाएका गम्भीर प्रश्नलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्छ। संस्थागत समीक्षा, आत्मालोचना र व्यवहारगत रूपान्तरणसहित नेतृत्वको मूल टिम यो पुस्तासँग अन्तरघुलन गर्दै अगाडि बढ्नु आजको अपरिहार्य आवश्यकता हो।

त्यागका शाब्दिक नारा र शो–घोषणाले होइन, नीतिगत र विधिगत निर्णयले मात्र पार्टी पंक्ति र समाजलाई उद्देलित गर्न सक्छ। यही अग्निपरीक्षामा खरो उत्रिने पार्टी र नेतृत्व मात्र जेन–जी पुस्ताको वास्तविक अभिभावक ठहरिनेछन्।

अब समय आएको छ–संसदवादी जडताबाट मुक्त, सिद्धान्तनिष्ठ र ईमानदार पार्टी पंक्ति निर्माण गर्ने।

यसका लागि चाकरी–चापलुसी र अनावश्यक सत्ता–संघर्ष मुक्त, रचनात्मक सोच, संघर्षशीलता र ऊर्जाशीलताले भरिएका नवयुवालाई नेतृत्व र प्रतिनिधित्वको अग्रपंक्तिमा ल्याउने संकल्प गरौ !

यही ऊर्जा र प्रतिबद्धताले मात्र पार्टीलाई नयाँ दिशा दिन सक्छ, समाजमा परिवर्तनको लहर सिर्जना गर्न सक्छ, र राष्ट्रको समग्र विकासको आधार तयार गर्न सक्छ।

आगामी संघीय निर्वाचनमा अपवादबाहेक “संक्रमणकालीन विशेष नीति” अनुसार पूर्व प्रधानमन्त्री, मन्त्री तथा सांसदहरू प्रत्यक्ष वा समानुपातिक उम्मेदवार नहुने निर्णय गर्नु उपयुक्त र सन्मानजनक हुन्छ । उनीहरूको भूमिका वैचारिक निरन्तरता कायम राख्ने, संगठनात्मक अनुभव सम्प्रेषण गर्ने र संस्थागत स्मृतिको संरक्षणमा केन्द्रित हुनुपर्छ।

संघीय संसदका उम्मेदवारका रूपमा नयाँ अनुहार, नयाँ सोच र नयाँ क्षमताको चयन अनिवार्य छ। परम्परागत अभ्यासको अन्त्य गर्दै, समानुपातिक प्रणालीमार्फत पार्टीभित्र र बाहिरका योग्य, प्रतिबद्ध र जनसरोकारसँग गाँसिएका क्षमताको केन्द्रित चयन आजको माग हो।
जेन–जी आन्दोलनले प्रश्न मात्र उठाएको छैन, उत्तर खोज्न बाध्य बनाएको छ। अब इतिहास टार्ने होइन—निर्माण गर्ने घडी आएको छ।
यही नै जेन–जी आन्दोलनप्रतिको सच्चा सम्मान हो।

यही नै कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको बाटो हो।
नेपाली कम्युनिस्ट पार्टी – जिन्दावाद !

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।