विराटनगर । प्रदेशस्तरको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता कोशी प्राइड लिग (केपीएल) को तेस्रो संस्करण फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुने भएको छ ।
कोशी प्राइड प्रालिको आयोजनामा हुन लागेको प्रतियोगितामा सात फ्रेन्चाइज टोलीको सहभागिता रहने जानकारी केपीएलका निर्देशक अफजल हुसेनले जानकारी दिएका छन् ।
हुसेनका अनुसार प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित इकाल, बिर्तामोड हिट्सका मालिक अनुराग प्रमानिक पूर्वेली सुपर किंग्सका भरत कार्की, एभरेस्ट थन्डर्सका आकाश खड्का, बीएन कोशी अर्नाका मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सका विजय खड्का र पुजनबाबु भट्टराई रहेका छन् ।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीले कम्तीमा ११ खेलाडी अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ । टोली संरचनाअनुसार एक मार्की खेलाडी, एक आइकोनिक खेलाडी, राष्ट्रिय टोलीका खेलाडीमध्येबाट ड्राफ्ट गरिने तीन खेलाडी, अक्सनमार्फत क्याटेगोरी ‘ए’ का तीन, क्याटेगोरी ‘बी’ का दुई र क्याटेगोरी ‘सी’ का एक खेलाडी टोलीमा रहने व्यवस्था गरिएको छ ।
टिम निर्माणका लागि खेलाडी अक्सन चाँडै आयोजना गरिने आयोजकले जनाएको छ । अक्सनका लागि खुला खेलाडी दर्ता प्रक्रिया सुरु भइसकेको छ । इच्छुक खेलाडीले माइपे एपमार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन् । अक्सनमा क्याटेगोरी ‘ए’ का खेलाडीको मूल्य ४५ हजारदेखि ६५ हजार रुपैयाँसम्म, क्याटेगोरी ‘बी’ का लागि २५ हजारदेखि ४५ हजार रुपैयाँसम्म र क्याटेगोरी ‘सी’ का खेलाडीको मूल्य ५ हजारदेखि २५ हजार रुपैयाँसम्म तोकिएको छ ।
केपीएलका निर्देशक हुसेनले प्रतियोगिताले कोशी प्रदेशको क्रिकेट विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनका अनुसार यस प्रतियोगिताले ग्रासरुट तहका खेलाडीलाई अवसर दिनुका साथै भविष्यमा नेपाल प्रिमियर लिग (एनपीएलं) का लागि नयाँ प्रतिभा उत्पादनमा सहयोग गर्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) को मान्यता प्राप्त प्रतियोगिताका रूपमा आयोजना हुन लागेको कोशी प्राइड लिगलाई कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।