ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्याएको छ ।
फुङलिङ–९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेडा भालुको आक्रमणबाट मरेका जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् । पछिल्ला केही दिनदेखि विभिन्न स्थानमा भालु देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
भालुले अलैँचीको टुसासमेत खाएर बगानमा पनि क्षति पुर्याएको स्थानीयले बताएका छन् । भालुको कारण अलैँची बगानमा सिँचाइ गर्न र घाँसदाउरा गर्नसमेत त्रास सृजना हुन थालेको छ ।
भालु नियन्त्रणका लागि वडा कार्यालयले वन कार्यालयसँग समन्वय गरिरहेको वडाध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।