विराटनगर । सप्तरीको राजविराजबाट विराटनगरमा शनिबार साँझ आएका शम्भुप्रसाद यादवको मनमा एउटा बेग्लै छटपटी थियो । त्यो छटपटी आफ्ना कान्छा छोरा डा.अमित यादवको खस्कँदो स्वास्थ्य र उनले झेलिरहेको मानसिक तनावलाई लिएर थियो ।
नोबेल मेडिकल कलेजबाट एमबीबीएस सकेर भर्खरै डाक्टर बनेका छोराको उज्यालो भविष्य हेर्ने सपना बोकेका बाबुका लागि आइतबारको बिहानी जीवनकै सबैभन्दा अँध्यारो मोड बनिदियो । छोराको साथको लागि आएका उनले आफ्नै साथमा रहँदा छोरा गुमाउनु पर्यो ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजभन्दा करिब १०० मिटर उत्तरमा रहेको भाडाको कोठामा बाबु–छोरा सँगै थिए । छोरा बिरामी परेपछि उनलाई सम्हाल्न र ढाडस दिन शम्भुप्रसाद राजविराजबाट विराटनगर आइपुगेका थिए । तर, डा.अमितको मनभित्र कस्तो आँधी चलिरहेको थियो भन्ने कुरा बाबुले पत्तै पाउन सकेनन् ।
आइतबार बिहान झिसमिसे ४ बजे अमित जुरुक्क उठे । उनले आफ्ना बुबाका लागि श्रद्धा र मायाले तातो चिया बनाए । “बुवा, चिया खानुस्,” भन्दै उनले बाबुलाई चियाको प्याला थमाए र आफू पनि चिया लिएर कोठाको बरन्डातिर लागे ।
बाबु शम्भुप्रसादलाई लाग्यो— छोरा निको हुँदैछ, त्यसैले त बिहानै उठेर चिया बनायो । उनले चिया पिएर आफ्नो नित्यकर्म अनुसार कोठाभित्रै योगा गर्न थाले । कोठाभित्र बाबु एकाग्र भएर योगा गर्दै थिए, बाहिर बरन्डामा छोरा चियाको चुस्कीसँगै सायद जिन्दगीको अन्तिम र कठोर फैसला गरिरहेका थिए । योगा सकेर जब शम्भुप्रसाद छोरालाई हेर्न बरन्डामा निस्किए, त्यहाँ रित्तो कप मात्र थियो, अमित थिएनन् ।
‘मलाई लाग्यो कतै यताउता निस्कियो होला ।’ उनले भने । उनले छोरालाई यताउता खोजे, कतै भेटेनन् । नोबेल अस्पतालको गेटदेखि गल्लीहरूसम्म तीन पटक चक्कर लगाए । तर, अमितको पत्तो लागेन । चौथो पटक खोज्न निस्कँदा उनले अस्पतालको अगाडि मानिसहरूको भिड र प्रहरीको चहलपहल देखे । कसैले भन्यो— ‘एकजना २४–२५ वर्षको युवाले अस्पतालको पाँचौँ तलाबाट हामफालेर आत्महत्या गरेछन् ।’
त्यो सुन्नासाथ शम्भुप्रसादको मुटु काम्यो । भिड छिचोल्दै अगाडि बढेर हेर्दा तिनै छोरा भुइँमा रक्ताम्मे अवस्थामा लडिरहेका थिए, जसले केही मिनेटअघि मात्र चिया बनाएर खुवाएका थिए । “त्यसपछि म निःशब्द भएँ । मेरो संसार नै उज्यालोबाट एकाएक अँध्यारोमा बदलियो,” उनले गहभरि आँसु पार्दै भने ।
गम्भीर घाइते अमितलाई तत्काल नोबेल अस्पतालकै आकस्मिक कक्षमा लगियो । तर, नियतिको खेल अर्कै थियो । बिहान ६ः३० बजे अस्पतालले उनलाई मृत घोषित गरिदियो ।
सप्तरीको राजविराज नगरपालिका ९ स्थायी घर भएका अमितले सन् २०२३ मा नोबेल मेडिकल कलेजबाटै एमबीबीएस उत्तीर्ण गरेका थिए । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षासमेत उत्तीर्ण गरिसकेका उनी एक दक्ष चिकित्सकका रूपमा समाज सेवामा लाग्ने तयारीमा थिए । बाबुका अनुसार उनले सोही अस्पतालमा दुई वर्ष ‘इन्टर्नसिप’ पनि पूरा गरेका थिए । तर, अस्पताल प्रशासन र अमितबीच केहि विषयमा समयदेखि विवाद र तनाव सिर्जना भएको बुझिन्छ ।
परिवारका अनुसार अस्पताल प्रशासनले उनको इन्टर्नसिप पूरा नभएको दाबी गर्दै कागजात नभेटिएको बताएपछि अमित चरम मानसिक तनावमा थिए । “छोराको कागजपत्रहरू अस्पतालमा भेटिएको थिएन । अस्पतालले इन्टर्नसिप पूरा नभएको भन्दै थियो । त्यही डकुमेन्टको तनावले उसलाई बिरामी बनाएको थियो,” बाबु शम्भुले पीडा पोखे ।
एउटा डाक्टर बन्न वर्षौँको मिहिनेत, लाखौँको लगानी र परिवारको ठुलो आशा जोडिएको हुन्छ । तर, प्रशासनिक अल्झन र कागजी अड्चनले एउटा उदीयमान प्रतिभालाई कसरी मृत्युको मुखसम्म पु¥याउँछ भन्ने उदाहरण अमितको यो वियोगान्त कथा बनेको छ ।
राजविराजका शम्भुप्रसाद र सरिता यादवका कान्छा छोरा अमित परिवारका तारा थिए । “छोरा डाक्टर बनेपछि परिवारको गरिमा बढ्ने र समाजको सेवा हुने आशामा थियौँ,” उनले भने, “यो क्षति हाम्रो परिवारका लागि कहिल्यै अपूरणीय रहनेछ ।”
अहिले प्रहरीले यस घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ । कोशी अस्पतालमा आइतबार पोस्मार्टम गरेर छोराको शव राजविराज लगेको बावु शम्भुले बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।