विराटनगर । मुलुकको शैक्षिक प्रणालीलाई गुणस्तरीय र सीपमूलक बनाउँदै शिक्षक दरबन्दी तथा अनिवार्य र निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि कोशी प्रदेशका शिक्षा अधिकारीहरूलाई विराटनगरमा पाँच दिने विशेष अभिमुखीकरण प्रदान गरिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको आयोजनामा पुस १ गतेदेखि ५ गतेसम्म सञ्चालित उक्त कार्यक्रममा शिक्षालाई सीप र गुणस्तरसँग जोड्ने विषयलाई मुख्य एजेन्डा बनाइएको थियो। स्थानीय तहहरूमा देखिएका शिक्षा क्षेत्रका समस्या समाधान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ‘गुणस्तरीय र सीपमूलक शिक्षा’, ‘शिक्षक दरबन्दी मिलान’ र ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ को कार्यान्वयनलाई प्रमुखताका साथ उठान गरिएको निर्देशक नीलकण्ठ ढकालले बताए। उनका अनुसार पाँच दिनसम्म चलेको सत्रमा शिक्षक तालिम र स्थानीय तहका जनप्रतिनिधिहरूसँगको समन्वयका बारेमा समेत सघन छलफल भएको थियो।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शिक्षा सुधारका लागि ‘अनिवार्य र निःशुल्क शिक्षा’ को कार्यान्वयन अपरिहार्य रहेको बताउँदै शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कनमा देखिएका त्रुटिहरू सच्याउने अवधारणा प्रस्तुत गरे। उनले स्थानीय तहमा गुणस्तरीय प्रश्नपत्र निर्माण र ग्रिडको प्रयोगमार्फत शिक्षाको गुणस्तर मापन गर्न सकिनेमा जोड दिए।
यसैगरी, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालिग्राम दाहालका अनुसार गुणस्तरीय प्रश्नपत्र निर्माण, गोपनीयता र विश्वसनीयताका विषयमा राष्ट्रिय परीक्षा बोर्डका उपनियन्त्रक सुभाष पन्त, काठमाडौँ विश्वविद्यालयका प्रोफेसर डा. शेषकान्त पंगेनी र प्राध्यापक डा. गणेशबहादुर सिंहले प्राविधिक सहजीकरण गरेका थिए।
अभिमुखीकरणमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सहसचिव हरिप्रसाद निरौलाले नीति, नियम र कानुनका विषयमा जानकारी गराएका थिए भने शिक्षक सेवा आयोगका उपसचिव रामचन्द्र शर्मा, केन्द्रका निर्देशक नीलकण्ठ ढकाल र शिक्षा निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल लगायतले सहभागीहरूलाई विभिन्न प्राविधिक एवं व्यवस्थापकीय विषयमा सहजीकरण गरेका थिए।
यस कार्यक्रममा कोशी प्रदेशका १३७ वटा स्थानीय तहका शिक्षा शाखा अधिकृतहरू, १४ वटा जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखहरू, शिक्षा तालिम केन्द्र इनरुवाका प्रमुख, शिक्षा निर्देशनालय धनकुटाका अधिकृत र सामाजिक विकास मन्त्रालयका उपसचिव तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।
यसअघि मुलुकका अन्य ६ वटा प्रदेशमा सम्पन्न भइसकेको यो अभिमुखीकरण कार्यक्रम शनिबार विराटनगरमा समापन भएको हो। यो कार्यक्रमले स्थानीय तहमा शिक्षाको नीतिगत अन्योल चिर्न र सीपमूलक शिक्षाको जग बसाल्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।