काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि पनि संविधान मिच्ने कोसिस नगर्न र विभिन्न बहानामा निर्वाचन सार्ने प्रपञ्च नरच्न सरकारलाई कडा चेतावनी दिएका छन्।
पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको ‘सन्देश सभा’लाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सरकारलाई कुनै पनि तर्क वा बहानामा निर्वाचन सार्ने दुस्साहस नगर्न सचेत गराएका हुन् । उनले यदि निर्वाचन सार्ने काम भएमा आफ्नो पार्टी चुप लागेर नबस्ने र त्यसले देशलाई गम्भीर संवैधानिक संकटमा धकेल्ने जिकिर गरे।
“हामीले यो देशलाई संकटबाट बचाउन र मुक्त गर्न तागत एकीकृत गरेका छौँ,” प्रचण्डले भने, “सरकारलाई हामी भन्न चाहन्छौँ तपाईंहरू कुनै पनि बहानामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोला। सहज ढंगले निर्वाचन सम्पन्न होस् भन्ने हाम्रो चाहना छ।”
यसअघि पनि केही हदसम्म संविधान मिच्ने काम भएको उल्लेख गर्दै उनले देशको असहज परिस्थितिलाई हेरेर आफूहरूले अन्तरिम सरकार बनाउन पहल गर्दै सहयोग गरेको स्मरण गराए। तर, अब फेरि निर्वाचनको मिति सार्ने वा धकेल्ने काम भएमा त्यो अक्षम्य हुने उनको भनाइ थियो।
“एकचोटी त संविधान मिचिइसकेको छ, तर देशको अवस्था हेरेर हामीले सहयोग गर्यौँ। यदि फेरि पनि निर्वाचन सार्ने प्रपञ्च गरियो भने संविधान मिचिन्छ र हामी चुप लागेर बस्ने छैनौँ,” उनले अगाडि थपे, “६ महिना वा एक वर्ष निर्वाचन सार्ने हल्ला सुनिएको छ। यदि त्यसो गरियो भने देश दुर्घटनामा पर्छ र अबको दुर्घटनामा नेपाली कम्युनिस्ट पार्टी रमिते भएर बस्ने छैन।”
सम्बोधनका क्रममा उनले मिडिया क्षेत्रलाई पनि जिम्मेवार बन्न विशेष आग्रह गरे। देशको परिवर्तन र राजनीतिक घटनाक्रममा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै उनले सत्यको पक्षमा उभिन आग्रह गरे।
प्रचण्डले नेपाली मिडियाको भूमिकालाई सहिद परिवारले नजिकबाट नियालिरहेको बताउँदै भने, “नेपाली मिडियाको भूमिका के कस्तो रह्यो भन्ने कुरा सहिद परिवारहरूले आफ्नो बहि खातामा लेखेर राखेका छन्। त्यसको सही मूल्याङ्कन आउने समयमा पक्कै हुनेछ।”
अहंकारी र दम्भी प्रवृत्तिले प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाउँदै उनले शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउनु नै अहिलेको निकास भएको स्पष्ट पारे।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।