लोड हुँदैछ...

मेनु

रास्वपा सभापति रवि लामिछाने थुनामुक्त

रास्वपा सभापति रवि लामिछाने थुनामुक्त

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देही उपस्थित भई थुनामुक्त भएका छन् ।

काठमाडौंबाट चितवन हुँदै शुक्रबार साँझ रुपन्देही आइपुगेका लामिछाने शुक्रबार साँझ ५ बजेर ३७ मिनेटमा जिल्ला अदालतमा उपस्थित भएका थिए।

तुलसीपुर उच्च अदालतको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी उनी रिहा भएका हुन्। खराब मौसमका कारण काठमाडौंबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन नसकेपछि उनी भरतपुर विमानस्थल हुँदै सडकमार्गबाट रुपन्देही आएका थिए।

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार कानुन व्यवसायीको रोहबरमा सनाखतका लागि कागजात पहिल्यै तयारी अवस्थामा राखिएकाले प्रक्रिया छिट्टै सम्पन्न भएको हो। लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । त्यसमध्ये दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक ग्यारेन्टी र एक करोड रुपैयाँ धरौटी रहेको सूचना अधिकारी अर्यालले जानकारी दिए।

यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले शर्तसहित लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो। गत माघ १३ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले पुर्पक्षका लागि एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशअनुसार दुई फरक धरौटी रकम गरी कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाइएपछि उनी थुनामुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।