लोड हुँदैछ...

मेनु

बिराट मेडिकल कलेज र पारस हस्पिटलबीच विशेषज्ञ सेवामा सहकार्य

बिराट मेडिकल कलेज र पारस हस्पिटलबीच विशेषज्ञ सेवामा सहकार्य

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र विराटनगरस्थित पारस मल्टिस्पेशालिटी हस्पिटलबीच क्यान्सर उपचारसहित विभिन्न विशेषज्ञ सेवामा सहकार्य गर्ने सम्झौता भएको छ।

बिहीबार ९२०८२ पुस ३० बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौतामा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिनिश कार्की र हस्पिटल को–अर्डिनेटर सुनिल देव तथा पारस मल्टिस्पेशालिटी हस्पिटलका तर्फबाट अध्यक्ष डा. सफिउर रहमान, सीईओ हेमनारायण मेहता र हस्पिटल म्यानेजर मो. सिफतेन रजा अन्सारीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपलब्ध क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार सेवासहित अन्य विशेषज्ञ सेवामा दुवै संस्थाले सहकार्य गर्नेछन् ।

दुवै अस्पतालका चिकित्सक तथा कर्मचारीहरूको सिप विकासका लागि तालिम, अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरिने सीईओ डिनिश कार्कीले जानकारी दिए। पारस मल्टिस्पेशालिटी हस्पिटलबाट रेफर भएका बिरामीहरूले बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ओपीडी सेवा निःशुल्क पाउनेछन् भने अन्य उपचार तथा सेवामा विशेष छुटको व्यवस्था गरिएको पारस हस्पिटलका सीईओ हेमनारायण मेहताले बताए ।

सम्झौताले दुवै अस्पतालबीच सेवा आदान–प्रदानलाई थप प्रभावकारी बनाउने, बिरामीलाई गुणस्तरीय उपचारमा सहज पहुँच दिलाउने र स्वास्थ्य क्षेत्रमा मानव संसाधन विकासमा योगदान पुग्ने पारस हस्पिटलका अध्यक्ष डा। सफिउर रहमानले बताए। पारस हस्पिटलका बिरामी, कर्मचारी तथा कर्मचारीका परिवारले समेत यो सुविधा उपभोग गर्न सक्नेछन्।

पारस हस्पिटलमा उपचार सम्भव नभएका वा थप विशिष्टीकृत सेवा आवश्यक पर्ने बिरामीहरूले बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा विशेष छुटका साथ उपचार सेवा पाउनेछन्। पूर्वी नेपालको प्रतिष्ठित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गतको बिराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको सम्पूर्ण उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।