लोड हुँदैछ...

मेनु

इटहरीमा ८० प्रतिशत काँग्रेसले गरे सदस्यता नवीकरण

इटहरीमा ८० प्रतिशत काँग्रेसले गरे सदस्यता नवीकरण

इटहरी । महाधिवेशनको मिति तोकिएसँगै सुनसरीको इटहरीमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकरण ८० प्रतिशत पुगेको छ । वडा समिति मार्फत नवीकरण प्रक्रिया सकिएर नयाँ सदस्यता वितरण सुरु गरिएको हो ।

मङ्सिर २९ गतेसम्मको आधारमा इटहरी उपमहानगरपालिकाभित्र ८० प्रतिशतभन्दा बढी सदस्यता नवीकरण भएको छ । इटहरी नगर सचिव विक्रम घिमिरेका अनुसार काँग्रेसले महाधिवेशनको मिति तय गरेसँगै नवीकरणमा उत्साह देखिएको छ ।

इटहरीमा ४ हजार ४५९ क्रियाशील सदस्य रहेकोमा ३ हजार ५ सयभन्दा बढीले सदस्यता नवीकरण गरिसकेका छन्। इटहरीमा मतदाता नामावली नभएको, मृतक, पार्टी छाडेर अन्य पार्टीमा गएका वा सम्बन्धित वडामा सदस्यता नभएका व्यक्तिहरूको सदस्यता नवीकरण नगरिएको काँग्रेसले जनाएको छ ।

क्षेत्रीय समिति मार्फत नवीकरणको फारम जिल्ला समितिमा पुगेको छ भने नयाँ सदस्यताको फारम वडा तहबाट वितरण भइरहेको छ। पुरानो सदस्यता नवीकरणपछि नयाँ क्रियाशील सदस्यताको काम पनि धमाधम भइरहेको छ ।

नयाँ सदस्यतामा क्रम सङ्ख्या उल्लेख नभएको कारण जिल्ला पुनः सदस्यता फारम पठाइएको छ । पार्टीले युवा पुस्तालाई केन्द्रित गर्दै नयाँ सदस्यता वितरण अगाडि बढाएको छ । पुस ७ गतेसम्म सदस्यता वितरणको क्रम सकिएपछि मात्रै १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds