लोड हुँदैछ...

मेनु

संकटग्रस्त घोषणा गरेपनि बजेट नआएको भन्दै इलामवासीद्वारा मेची राजमार्ग अवरुद्ध

संकटग्रस्त घोषणा गरेपनि बजेट नआएको भन्दै इलामवासीद्वारा मेची राजमार्ग अवरुद्ध

इलाम । असोज १७–१८ को अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट क्षतिग्रस्त भएका इलामका नागरिकले सरकारको उदासीनताविरुद्ध मेची राजमार्ग बन्द गर्दै विरोध गरेका छन् ।

बाढी र पहिरोपछाडि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका इलामका स्थानीय तहमा बगेका बाटोघाटा तथा पुल–पुलेसा निर्माणका लागि बजेट व्यवस्था नभएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

विपद् व्यवस्थापन प्राधिकरणको सिफारिसमा संघीय सरकारले इलाम, सन्दकपुर, देउमाई र सूर्योदयसहित पाँच पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर, त्यसअनुसार बजेट नआएको भन्दै बुधबार विहान ११ बजेदेखि १२ बजेसम्म इलाम सदरमुकाम प्रवेशद्वार जिरो पोइन्टमा सडकमै कुर्सी राखेर विरोध गरिएको हो ।

राजमार्ग बन्द गरिएपछि पाँचथर र ताप्लेजुङबाट इलाम हुँदै झापा तथा झापाबाट इलाम हुँदै पाँचथर–ताप्लेजुङ जाने सवारी साधन र ढुवानी पूर्णरूपमा ठप्प भएका थिए। विरोध कार्यक्रममा इलाम नगरपालिकाका उपमेयर विष्णु लिम्बू (दाहाल) लगायत स्थानीय जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

साबिक मेची अञ्चलका पहाडी जिल्लाको लाइफलाइनका रूपमा रहेको मेची राजमार्ग तथा वैकल्पिक सडकहरूको तत्काल मर्मत गर्न सरकारलाई ध्यानाकर्षण पत्र पठाइएको इलाम नगरपालिकाले जनाएको छ । सरकारले तीन दिनभित्र नागरिकका माग सम्बोधन नगरे आमहडतालसहित थप कडा कार्यक्रम घोषणा गर्ने चेतावनी स्थानीयले दिएको सचेत इलामेली नागरिकका संयोजक ईश्वर चिपालुले बताए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।