लोड हुँदैछ...

मेनु

नियतबस अर्काको मोटरसाइकलमा ‘ब्राउन सुगर’ राखिदिने चार जना पक्राउ

नियतबस अर्काको मोटरसाइकलमा ‘ब्राउन सुगर’ राखिदिने चार जना पक्राउ

विराटनगर । व्यक्तिगत रिसइबी साँध्न फसाउने नियतले अर्काको मोटरसाइकलमा सुटुक्क लागुपदार्थ ब्राउन सुगर राखिदिएका चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

धनपालथान गाउँपालिकाका विभिन्न व्यक्तिहरूको मोटरसाइकलको ‘इन्डिकेटर’ भित्र लागुपदार्थ राखिदिएर प्रहरीलाई सुराक दिई पक्राउ गराउने योजना बनाएको अभियोगमा उनीहरू समातिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, गत मंसिर २७ गते गोप्य सूचनाका आधारमा धनपालथान–४ स्थित सडकमा चेकजाँच गर्दा राजीव चौधरीले चलाएको प्रदेश १–०४–००२ प ६४७१ नम्बरको मोटरसाइकलको दायाँ इन्डिकेटर भित्र १३.३१० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) फेला परेको थियो । त्यसबेला प्रहरीले चालक चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

यस्तै प्रकृतिको अर्को घटना पुस २० गते पनि दोहोरियो । धनपालथान–२ का ४५ वर्षीय चन्द्रशेखर मण्डलको को ६ प १६२६ नम्बरको मोटरसाइकलमा पनि लागुपदार्थ लुकाएर ल्याउँदै गरेको सूचना प्रहरीलाई दिएको र चेकजाँच गर्दा त्यहाँ पनि इन्डिकेटर भित्र शंकास्पद वस्तु फेला परेको थियो ।

लगातार एउटै प्रकृतिको घटना र पक्राउ पर्ने व्यक्तिहरू पनि नातेदार (ज्वाइँ ससुरा) भएको खुलेपछि प्रहरीले अनुसन्धानको सुई फरक ढंगले घुमाएको थियो । पुस २० गते बरामद भएको पदार्थको ल्याब रिपोर्ट ‘नेगेटिभ’ आएपछि चन्द्र शेखर मण्डलले सफाइ पाए ।

सुक्ष्म अनुसन्धान गर्दै जाँदा घटना योजनाबद्ध भएको खुल्यो । ती सबै घटनाको योजना धनपालथान–७ का २२ वर्षीय विशालकुमार सिंहले बनाएको प्रहरी अनुसन्धानबाट पुष्टि भयो । सिंहले चन्द्रशेखर मण्डलको परिवारसँग रहेको व्यक्तिगत रिसइबीका कारण फसाउनका लागि अन्य साथीहरूसँग मिलेर उनीहरूको मोटरसाइकलमा लागुपदार्थ राखिदिएको प्रहरीको निष्कर्ष छ ।

मण्डललाई मात्र नभई उनका ज्वाइँ राजीव चौधरीलाई समेत फसाउने उद्देश्यले उनीहरूको मोटरसाइकलको इन्डिकेटरभित्र प्लाष्टिकमा पोको पारेर लागुपदार्थ राखिदिएका थिए ।

षड्यन्त्रपूर्ण घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ९ का २७ वर्षे राजा धोबी, मुख्य योजनाकार धनपाल गाउँपालिका ७ का २२ वर्षे विशालकुमार सिंह, धनपाल ७ कै २७ वर्षे रोशन मण्डल र धनपाल १ का २८ वर्षे पारस मण्डललाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) कोपिला चुडालले निर्दोष व्यक्तिलाई फसाउन लागुपदार्थको प्रयोग गर्ने गिरोहमाथि अनुसन्धान भइरहेको र उनीहरुलाई कानुनी कारवाही हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।