विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसारमा कडाइ गर्ने गरी आचारसंहिता प्रस्ताव गरेको छ। निर्वाचनलाई भड्किलो हुन नदिन र मर्यादित बनाउन आयोगले प्रचार सामग्रीको प्रयोगमा नयाँ र कडा मापदण्ड अघि सारेको हो।
प्रस्तावित आचारसंहिता अनुसार, अब राजनीतिक दल वा उम्मेदवारले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा १० वटा भन्दा बढी झण्डा प्रयोग गर्न पाइने छैन। दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरी दुरुपयोग नहोस् भन्ने उद्देश्यले आयोगले यस्तो संख्या तोकेको हो। साथै, दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाएर सार्वजनिक प्रदर्शन गर्न समेत नपाइने प्रस्तावमा उल्लेख छ।
आयोगले उम्मेदवार वा दलको कार्यालयमा ३×४ फिटको कपडामा बनेको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न अनुमति दिने प्रस्ताव गरेको छ। तर, प्रचारप्रसारको उद्देश्यले कुनै पनि प्रकारको डिजिटल बोर्ड, ठूला फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न, तथा श्रव्यदृश्य सामग्री ९डिजिटल डिस्प्ले० प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइने भएको छ। कार्यक्रम स्थलमा भने दल वा उम्मेदवारको नाम र चिन्ह भएको एउटा मात्र तुल वा फ्लेक्स राख्न पाइनेछ।
निर्वाचन प्रचारका लागि घरदैलो कार्यक्रममा जाँदा अब भिडभाड गर्न पाइने छैन। उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाको टोली मात्र जान पाउने व्यवस्था प्रस्ताव गरिएको छ। यस्तै, प्रचारमा जाँदा बाजागाजा, झाँकी प्रदर्शन गर्न तथा गाडी, मोटरसाइकल, साइकल लगायतका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न नहुने कडा व्यवस्था गर्न लागिएको छ। भित्तेलेखन गर्न वा गराउन पनि बन्देज लगाइएको छ।
आयोगले सपिङ मलका डिस्प्ले, बैंकका एटीएम काउन्टर, टिभी स्क्रोलिङ, अनलाइन वेबपेज र सडक नाटक जस्ता माध्यमबाट प्रचारप्रसार गराउन नपाइने प्रस्ताव गरेको छ। तर, राजनीतिक दल वा उम्मेदवारले आफ्नो एउटा निजी र आधिकारिक वेबपेज वा सामाजिक सञ्जालमा भने प्रचार सामग्री राख्न बाधा पर्ने छैन।
आयोगले निर्वाचनलाई स्वच्छ, शान्त, कम खर्चिलो र मर्यादित बनाउने उद्देश्यले यस्तो आचारसंहिता प्रस्ताव गरेको जनाएको छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।