विराटनगर । मोरङको सुन्दरहरैंचा, बेलबारी र आसपासका क्षेत्रमा अहिले साँझ पर्न थालेपछि सन्नाटा छाउँछ । गाउँका चोक र गल्लीहरूमा मानिसहरूको चहलपहल कम हुन्छ । कारण हो– जंगली हात्तीको त्रास । कुनै बेला फाट्टफुट्ट देखिने हात्तीहरू अहिले हुलका हुल गाउँ पस्न थालेपछि स्थानीय बासिन्दाको निन्द्र्रा हराम भएको छ ।
गएको शनिबार सुन्दरहरैंचा नगरपालिका–१२ का ६० वर्षीय भवकृष्ण घिमिरेको हात्तीको आक्रमणबाट भएको मृत्युले यो त्रासलाई उत्कर्षमा पु¥याएको छ । दूध बिक्री गर्न बिहानै बजार निस्किएका घिमिरेलाई जङ्गल फर्किँदै गरेको हात्तीको समूहले आक्रमण गरेको थियो । यो घटना केवल एक संयोग मात्र नभएर दशकौंदेखि बिग्रँदै गएको हात्ती र मानवबीचको सम्बन्धको विभत्स नतिजा भएको विज्ञ तथा सरोकारवालाहरू बताउँछन् ।
सुन्दरहरैंचा–१२ का वडा सदस्य दिलिपप्रसाद दाहालका अनुसार अहिले गाउँको अवस्था भयावह छ । ‘हात्ती नियन्त्रण भन्दा बाहिर छन् । जतिखेर जे पनि हुन सक्ने अवस्था छ,’ दाहाल भन्छन् । वडा कार्यालय र नगरपालिकाले स्थानीयलाई सतर्क रहन आग्रह गर्दै ‘माइकिङ’ (सार्वजनिक सूचना प्रसारण) गरिरहेको छ । साँझ परेपछि र बिहान उज्यालो नहुँदै घरबाहिर ननिस्कन उर्दी जारी गरिएको छ ।
‘जनतामा ठूलो त्रास छ । बालबालिकाहरू स्कुल जान डराइरहेका छन् । अभिभावकहरू चिन्तित छन्,’ दाहाल भन्छन्, ‘प्रहरी प्रशासनले गस्ती त गरिरहेको छ, तर हात्तीको हुललाई रोक्न त्यो पर्याप्त छैन ।’ स्थानीय बासिन्दाहरू केवल सूचना र सतर्कताले मात्र चित्त बुझाउने पक्षमा छैनन् । उनीहरू बालीनाली र जनधनको क्षतिको यथोचित क्षतिपूर्ति र दीर्घकालीन समाधानको माग गरिरहेका छन् । ‘वनले क्षतिपूर्ति दिन्छ, नगरपालिकाले सहयोग गर्छ भनेर हामीले सम्झाइरहेका छौँ, तर ज्यानकै सुरक्षा नभएपछि राहतले मात्र के गर्नु ?,’ वडा सदस्य दाहालको भनाइमा स्थानीयको पीडा र आक्रोश स्पष्ट झल्किन्छ ।
हात्तीहरूको यो आगमन आकस्मिक होइन । हात्ती संरक्षण र व्यवहारसम्बन्धी जानकार तथा बेलबारीका स्थानीय अगुवा अर्जुन कार्कीका अनुसार यो हात्तीहरूको ‘पुख्र्यौली बाटो’ हो । भारतको आसाम, पश्चिम बंगाल हुँदै झापाको बाहुनडाँगीबाट नेपाल छिर्ने हात्तीहरू मोरङ, सुनसरी हुँदै कोशी टप्पु र उदयपुरसम्म पुग्ने गर्छन् ।
‘हाम्रो गणना अनुसार यसपटक करिब ८४ वटा हात्ती नेपाल छिरेका थिए । त्यसमध्ये ३०–३२ वटा फर्किए पनि ५०–५२ वटा हात्ती अझै यही क्षेत्रमा छन्,’ कार्कीले भने । उनका अनुसार यो बगाल अहिले टुक्रिएर स–साना समूहमा विभाजित भएको छ । मोरङका डिभिजनल वन अधिकृत (डीएफओ) उत्सव थापा पनि यसमा सहमत छन् । ‘अहिले सुन्दरहरैंचाको सुकुना क्षेत्र, बेलबारी र लेटाङको लाटीझोडा क्षेत्रमा हात्तीहरू छरिएर रहेका छन्,’ थापाले भने ।
विगतका वर्षहरूमा हात्तीहरू यो बाटो प्रयोग गरेर सिधै पश्चिमतर्फ लाग्थे वा फर्किन्थे । तर, अहिले अवस्था फेरिएको छ । मानव बस्ती विस्तार, वन फँडानी र जताततै लगाइएका विद्युतीय बार (फेन्सिङ) का कारण हात्तीहरूको प्राकृतिक बाटो अवरुद्ध भएको छ । कार्की भन्छन्, ‘हात्ती भनेको डोजर जस्तै हो, उसले आफ्नो बाटो आफैँ बनाउँछ । तर हामीले जताततै घेराबार लगाएर, उनीहरूको बाटो छेकेर उनीहरूलाई ‘बदमास’ बनायौँ ।’ उनका अनुसार हात्तीले आफ्नो पुर्खाको बाटो सम्झिरहेको हुन्छ । कार्कीले भने, ‘हामीले हात्तीलाई जिस्काउने, पटाका पड्काउने र घाइते बनाउने काम ग¥यौँ । हात्ती स्मृति शक्ति एकदमै तगडा भएको प्राणी हो । उसले आफूमाथि भएको दुव्र्यवहार कहिल्यै बिर्संदैन र बदला लिन्छ ।’
कार्कीको विश्लेषणमा अहिले हात्तीहरू ‘शरणार्थी’ जस्ता भएका छन् । ‘न उता जान दिन्छौँ, न यता छिर्न दिन्छौँ । जंगलमा खानेकुरा छैन । अनि उनीहरू बाध्य भएर गाउँ पस्छन्,’ उनले भने । जङ्गलमा मानिसहरूले फ्याँकेका चाउचाउका खोल र प्लास्टिकले हात्तीलाई नुनिलो र गुलियो स्वादको लत बसाएको छ, जसले गर्दा उनीहरू पसल र घर फोडेर खानेकुरा खोज्न थालेका छन् ।
विगतमा झापामा बढी देखिने हात्तीको समस्या पछिल्ला दुई वर्षयता मोरङमा केन्द्रित भएको छ । डिभिजन वन अधिकृत उत्सव थापा यसका पछाडि भौगोलिक र पर्यावरणीय कारण देख्छन् ।
‘भारतबाट नेपाल छिर्न खोज्ने हात्तीहरू यसपटक झापाको कन्काई नदीमा आएको बाढीका कारण तर्न सकेनन् । साना बच्चाहरू भएका कारण उनीहरू जोखिम मोल्न चाहेनन् र मोरङतिरै फर्किए,’ थापाले भने । अर्कोतर्फ, मोरङको चारकोसे झाडी र सिमसार क्षेत्रहरू हात्तीका लागि उपयुक्त बासस्थान बनेका छन् । यहाँको वन क्षेत्र र आसपासका धानखेतले उनीहरूलाई आहार प्रदान गरेको छ ।
‘अहिले हात्तीको बथानमा साना बच्चाहरू पनि छन् । बच्चा लिएर हात्ती लामो दूरी यात्रा गर्न रुचाउँदैन । त्यसैले उनीहरू यहीँको जंगलमा रमिरहेका छन्,’ थापाले थपे । हात्तीले मोरङलाई नै आफ्नो प्रजनन र बासस्थानको केन्द्र बनाउन थालेको संकेत गर्दै उनले भने, ‘यथार्थमा हात्तीहरूले यहाँ बच्चा जन्माइरहेका छन् र यहीँ सुरक्षित महसुस गरिरहेका छन् ।’
हात्तीको संख्या र उनीहरूले मच्चाइरहेको वितण्डाको तुलनामा जिल्लास्थित वन कार्यालयको स्रोत र साधन अत्यन्तै न्यून छ । वन अधिकृत थापाका अनुसार जिल्ला तहको जनशक्ति र संरचनाले मात्र यो समस्या समाधान गर्न असम्भव भइसकेको छ ।
‘हामीसँग तालिमप्राप्त जनशक्ति छैन । हात्तीलाई लखेट्न वा नियन्त्रणमा लिन आवश्यक पर्ने सवारी साधन, अत्याधुनिक उपकरण र पशु चिकित्सक सहितको टोली छैन,’ थापाले गुनासो गरे । उनले प्रदेश सरकारले नै ‘वन्यजन्तु अपराध तथा द्वन्द्व नियन्त्रण युनिट’ गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
‘अहिले हामी सीमित स्रोतबाट काम चलाइरहेका छौँ । राति र बिहान एकैपटक धेरै ठाउँमा हात्ती निस्किँदा हामी कुन ठाउँमा जाने ? एउटै टोली सबैतिर पुग्न सक्दैन,’ थापाले भने । उनले जिल्ला वन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय भइरहेको भए पनि त्यो पर्याप्त नभएको स्वीकार गरे ।
हात्ती रोक्न जताततै पर्खाल र विद्युतीय तारबार (फेन्सिङ) लगाउने चलन बढेको छ । तर विज्ञ अर्जुन कार्की यसलाई ‘पैसाको दुरुपयोग’ र ‘अवैज्ञानिक’ मान्छन् । ‘यो दिगो समाधान होइन । हात्तीलाई थुनेर वा छेकेर रोक्न सकिँदैन । यसले हात्तीलाई झन् आक्रामक बनाउँछ,’ कार्कीले दाबी गरे ।
उनका अनुसार झापाको बाहुनडाँगीले गरेको अभ्यास (हात्तीलाई नजिस्काउने र बाटो दिने) मोरङमा पनि लागू गर्नुपर्छ । ‘हात्तीलाई कोलाहल गरेर, हुलहुज्जत गरेर लखेट्नु हुँदैन । शान्त वातावरण दिने हो भने उसले मान्छेलाई आक्रमण गर्दैन,’ कार्कीले भने । उनले हात्ती आउँदा संयमित हुन र हात्तीको बाटोमा अवरोध नगर्न सुझाव दिए ।
भारतबाट आएका हात्तीहरू अब रैथाने जस्तै भइसकेका छन् । उनीहरूलाई लखेटेर भारत वा अन्यत्र पठाउनु तत्कालका लागि असम्भव प्रायः छ । ‘हामीले बुझ्नुपर्छ कि हात्ती हाम्रो शत्रु होइन । यो प्रकृतिको एउटा शक्ति हो । उसँग मित्रतापूर्ण व्यवहार गरेर ‘सहअस्तित्व’ को नीति अपनाउनु नै उत्तम विकल्प हो,’ कार्कीले भने । हात्तीको मनोविज्ञान बुझेर, उनीहरूको पुरानो बाटो खुला गरिदिने र मानव बस्तीमा पस्न नदिन वैज्ञानिक विधि अपनाउनु पर्नेमा उनको जोड छ ।
वन अधिकृत थापा पनि यसमा सहमत छन् । ‘हामीले हात्तीलाई जंगलमै सीमित राख्न जंगलभित्रै खानेकुरा र पानीको व्यवस्थापन गर्नुपर्छ । फलफूलका बिरुवा रोप्ने, पोखरी खन्ने काम भइरहेको छ,’ उनले भने । तर, तत्कालका लागि भने प्रदेश र केन्द्र सरकारले विशेष कार्यदल र पर्याप्त बजेटको व्यवस्था नगरेसम्म मोरङबासीले हात्तीको त्रासबाट मुक्ति पाउने सम्भावना न्यून देखिन्छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।