विराटनगर । नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । काठमाडौंको भृकुटीमण्डपमा भेला भएका महाधिवेशन प्रतिनिधिहरू घन्टौंदेखि लाइनमा बसेर मतदानको व्यग्र प्रतीक्षा गरिरहेका छन्, तर मतदान कति बजे सुरु हुन्छ भन्ने अझै टुंगो लाग्न सकेको छैन ।
निर्वाचन तालिका अनुसार आज बिहान १० बजे नै मतदान सुरु हुनुपर्ने थियो । तर, उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनमा भएको ढिलाइ र संशोधित सूचीलाई विद्युतीय मतदान मेसिन (भोटिङ मेसिन) मा प्रविष्ट (इन्ट्री) गर्न समय लागेकाले तालिका सर्दै गएको हो । प्राविधिक तयारी पूरा नहुँदा मतदान प्रक्रिया अबेरसम्म लम्बिएको निर्वाचन समितिले जनाएको छ ।
अहिले पनि मतदान सुरु हुने यकिन समयबारे आधिकारिक जानकारी दिइएको छैन ।
यसैबीच, अध्यक्ष केपी शर्मा ओली केही बेरअघि मात्रै मतदानस्थल आइपुगेका छन् । पार्टीका अन्य उम्मेदवार र शीर्ष नेताहरू पनि भृकुटीमण्डप परिसरमै छन् । उनीहरू आज दिनभर प्रतिनिधिहरूसँग भोट माग्न व्यस्त देखिएका थिए ।
बिहानैदेखि लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरू भने चाँडो मतदान गरेर आराम गर्न (सुत्न) पाइने आशामा छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।