लोड हुँदैछ...

मेनु

हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ

हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । बबरमहलस्थित नेपाल आयल निगम अगाडि बम विस्फोट गराएर ३ जनाको ज्यान लिएको घटनामा जेल सजाय भुक्तान गरी छुटेका व्यक्ति फेरि अर्को विस्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ परेका छन्। पक्राउ पर्ने ५० वर्षीय राजकुमार तामाङ (लामा) धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ का केन्द्रीय उपाध्यक्ष हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तामाङलाई मंगलबार काठमाडौंको कपनस्थित उनकै घरबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार तामाङ जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी एक मुद्दामा लामो समयदेखि फरार थिए। सोही मुद्दाको कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो।
धनकुटाको पाख्रीबास –९ स्थायी घर भएका तामाङले आफूलाई कुमार, विश्वक्रान्ति तथा देवराज लामा जस्ता उपनामले चिनाउँदै आएका थिए।

२०६८ फागुन २५ गते बबरमहलमा भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न भई २०६९ असार १२ गते पक्राउ परेका उनी जेल सजाय काटेर २०७६ सालको प्रजातन्त्र दिवसमा रिहा भएका थिए। बबरमहल विस्फोटमा मानबहादुर तामाङसहित ३ जनाको मृत्यु भएको थियो । जेलबाट छुटेपछि उनी पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेका थिए। राजनीतिमा ‘स्पेस’ खोजिरहेका तामाङले हर्क साम्पाङले खोलेको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष हत्याउन सफल भएका थिए। तर, पुरानो आपराधिक रेकर्ड र फरार सूचीमा रहेको अर्को मुद्दाले उनलाई पुनः प्रहरी हिरासतमा पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds