लोड हुँदैछ...

मेनु

बिजनेस नभए पनि पुस दोस्रो साता राष्ट्रिय सभा डाक्ने तयारी

बिजनेस नभए पनि पुस दोस्रो साता राष्ट्रिय सभा डाक्ने तयारी

विराटनगर । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारसँग सदनलाई दिने पर्याप्त ‘बिजनेस’ (विधेयक) नभए पनि पुसको दोस्रो साताभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी थालेका छन्।
मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पुस १० देखि १२ गतेको सेरोफेरोमा बैठक बोलाउने तयारी भइरहेको जानकारी दिए। यद्यपि, उनले सदन चलाउनका लागि आवश्यक एजेन्डाको चरम अभाव रहेको खुलासा गरेका छन्।

अध्यक्ष दाहालले बैठक बोलाउने विषयमा सरकारसँग विमति नरहे पनि सदनमा पेस गर्ने विषयवस्तुको खडेरी परेको बताए। उनले भने, ‘बैठक त हामी १०–१२ गतेतिर बस्छौँ। तर, सरकारसँग बिजनेस केही पनि छैन। हामीसँग जम्मा २–३ वटा विधेयक छन्, यसले करिब १० दिनलाई पुग्ला।’

उनले विधेयक सकिएपछि आयोगका प्रतिवेदनमाथि छलफल गराउने वा मन्त्रीहरूलाई बोलाएर प्रश्नोत्तर गर्ने विकल्प रहे पनि ठोस ‘बिजनेस’ को अभाव खड्किने संकेत गरे। ‘हामीले चलाउने नाममा आयोगका प्रतिवेदनहरू ल्याउन सकिन्छ, तर त्यति धेरै बिजनेसहरू छैनन्,’उनले चिन्ता व्यक्त गरे।

अध्यक्ष दाहालले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको हल निर्माणको काम सकिएलगत्तै बैठकको मिति तय गर्ने बताए। यस विषयमा उनले केही दिनभित्रै प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर औपचारिक छलफल गर्ने तयारी गरेका छन्।
‘अलिकति आकार आएपछि प्रधानमन्त्रीसँग कुरा गरेर सदन बोलाउँछु, यसमा अहिलेसम्म विमति छैन’ दाहालले भने।
संसदको हिउँदे अधिवेशन नजिकिँदै गर्दा राष्ट्रिय सभा अध्यक्षले सार्वजनिक रूपमै ‘बिजनेस’ अभावको कुरा उठाउनुले सरकारको विधेयक निर्माण र संसदीय सक्रियतामाथिको सुस्ततालाई उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।