लोड हुँदैछ...

मेनु

बीपी प्रतिष्ठान सुधारका लागि धरानवासीको पहल

बीपी प्रतिष्ठान सुधारका लागि धरानवासीको पहल

धरान । आर्थिक संकटबाट गुज्रिरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक तथा भौतिक सहयोग जुटाउन नागरिकस्तरबाट पहल सुरु भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा प्रतिष्ठानबारे आयोजित छलफल कार्यक्रममार्फत धरानवासी, उद्योगी तथा व्यवसायीहरूले सहयोगको प्रतिबद्धता जनाएका हुन्।

प्रतिष्ठानको अवस्था सुधार गर्ने उद्देश्यले आयोजित छलफल कार्यक्रममा प्रतिष्ठानले पहिलो पटक औपचारिक रूपमा धरानवासीसँग सहयोगको अपिल गरेपछि करिब ५० लाख रुपैयाँ बराबरको आर्थिक तथा जिन्सी सहयोगको प्रतिबद्धता जुटेको छ । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठका अनुसार सो रकमको प्रतिबद्धता आएको हो ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले आफू पनि धरानबासी नै भएको उल्लेख गर्दै जीर्ण भौतिक संरचना र उपकरण सामग्रीको मर्मत–सम्भार तथा आवश्यक नयाँ सामग्री खरिदका लागि आर्थिक र भौतिक सहयोग आवश्यक रहेको बताए । प्रतिष्ठान दानमै चल्ने संस्था नभएपनि वर्तमान अवस्थामा सुधारका लागि धरानवासीले एकपटक हातेमालो गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिष्ठानलाई हाल २८ प्रकारका सामग्री आवश्यक रहेको जानकारी दिँदै श्रेष्ठले पेन्टिङ, शौचालय तथा एलुमिनियम झ्याल मर्मत, एसी, वाइफाइ राउटर, काठका फर्निचर, फ्रिज, जस्तापाता, ह्विलचेयर, बेडलगायत सामग्री सहयोग गर्न अपिल गरे । संकलित सहयोग दान दातव्य व्यवस्थापन समितिमार्फत परिचालन गरिने र यसको पारदर्शी उपयोग गरिने उनको भनाइ छ ।

सहयोग व्यवस्थापनका लागि प्रा.डा. अनुप घिमिरेको संयोजकत्वमा सात सदस्यीय दान दातव्य व्यवस्थापन समिति गठन गरिएको छ। समितिमा सुनसरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय श्रेष्ठ र सरोज श्रेष्ठ पनि समावेश छन्।

कार्यक्रममा उद्योग वाणिज्य संघले ओपिडीमा रहेका २५ वटा डिजिटल डिस्प्ले मर्मत गर्ने प्रतिबद्धता जनाएको छ । नेवार एकता समाजले १०० थान ह्विलचेयर, रोटरी क्लब अफ घोपाले २० थान ह्विलचेयर, होटल एसोसिएसनले १ लाख रुपैयाँसम्म, समाजसेवी कृष्ण श्रेष्ठले १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

यस्तै, व्यवसायी नवीन राजभण्डारी, पवन अग्रवाल, मनमोहन श्रेष्ठ, सतिश चन्द गुप्ता, कुमार साह, हरि चौधरीलगायतले नगद तथा जिन्सी सहयोगको प्रतिबद्धता जनाएका छन्। ग्रिल, आल्मुनियम तथा निर्माण व्यवसायीहरूले पनि आर्थिक र भौतिक सहयोग गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।