विराटनगर । नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिएका संखुवासभाका नेता राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन्।
केपी शर्मा ओलीको प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका गौतमले ओलीसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसअघि ओलीको वरिपरि बस्नेतहरुले घेराबन्दी गरेर आफूलाई अपमानित गरेको भन्दै उनले उम्मेदवारी दर्र्ता गरेका थिए । पदाधिकारी दावी गर्दै आएका एमाले स्थायी समिति सदस्य गौतमलाई ओलीले केन्द्रीय सदस्यको मात्र उम्मेदवार बनाएर स्थायी समितिमै नरहेका महेश बस्नेतलाई सचिवको उम्मेदवार बनाएपछि उनी असन्तुष्ट थिए ।
तर, सोमबार ओलीसँग छलफल गरेपछि उनले उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् । यद्यपी अन्तिम नामावली प्रकाशित भइसकेकोले मतपत्रमा उनको नाम भने रहनेछ । स्रोतका अनुसार आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउने आश्वास ओलीले दिएपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पार्टीका नेताहरूको, कार्यकर्ताको सुझाव र सल्लाहलाई ध्यानमा राखेर केपी शर्मा नेतृत्वको समुहलाई हार्दिकता बहुमतले विजयी गराउन अपिल गर्दै उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।