विराटनगर । नेपालको पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको छ।
कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले एसईई उत्तीर्ण गरी तीन वर्षे डिप्लोमा कोर्स पूरा गरेका जुनियर सिभिल इन्जिनियर (जेई) हरूका लागि स्विस सरकारसँगको साझेदारीमा प्राविधिक स्नातक (बीटेक) कार्यक्रम सञ्चालन गर्ने भएको हो।
नेपालमा सिभिल इन्जिनियरिङ क्षेत्रमा पहिलोपटक राष्ट्रिय व्यावसायिक योग्यता प्रारूप तह–६ अनुरूपको प्राविधिक स्नातक ९बीटेक० कार्यक्रम सञ्चालन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) ले स्विस सरकारसँग औपचारिक सम्झौता पनि गरिसकेको छ।
सोमबार २९ मंसिरमा मनमोहनको ‘स्कुल अफ इन्जिनियरिङ’ संकायका डीन डा.रेखा श्रेष्ठ र स्विसकन्ट्याक्टका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीबीच बीटेक कार्यक्रम सञ्चालन गर्न औपचारिक सम्झौता भएको हो। सम्झौतापछि विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले चाँडै पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गराइने जानकारी दिए ।
उपकुलपति पोखरेलका अनुसार नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रणाली सुदृढ गर्ने उद्देश्यसहित मनमोहन प्राविधिक विश्वविद्यालय र स्विसकन्ट्याक्टबीच ‘नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना’ अन्तर्गत साझेदारी गरिएको हो। सम्झौतामा विश्वविद्यालयका तर्फबाट डीन डा. रेखा श्रेष्ठ र स्विसकन्ट्याक्टका तर्फबाट कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले हस्ताक्षर गरेका छन् ।
मनमोहन प्राविधिक विश्वविद्यालय र स्विसकन्ट्याक्टबीच भएको सम्झौता अनुसार एमटीयूले तीन वर्षे डिप्लोमा उत्तीर्ण गरेका जुनियर इन्जिनियरहरूका लागि दक्षतामा आधारित पाठ्यक्रम विकास गर्नेछ। जसमा कार्य–आधारित सिकाइ, उद्योगसँग सम्बन्धित मोड्युल, पेसागत तथा उद्योग परिषद्हरूसँगको परामर्श, र नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रको आवश्यकता अनुरूपका दक्षताका मापदण्डहरू पाठ्यक्रममा समेटिनेछन्। यो कार्यक्रम भविष्यमा अन्य टिभेट कार्यक्रमका लागि पनि मोडेल बन्ने विश्वविद्यालयको विश्वास छ।
विश्वविद्यालयकी डीन डा। श्रेष्ठले देशका युवालाई आवश्यक उच्चस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न स्विसकन्ट्याक्टसँगको सहकार्य महत्त्वपूर्ण हुने बताइन्। उनका अनुसार प्राविधिक स्नातक कार्यक्रमले जुनियर इन्जिनियरहरूलाई उद्योगसँग प्रत्यक्ष जोड्नेछ। जसले आवश्यकता अनुसारको दक्षतामा आधारित जनशक्ति उत्पादन गरेर नेपालको औद्योगिक क्षेत्रका लागि प्राविधिक शिक्षालाई नयाँ दिशामा अघि बढाउन सहयोग पुर्याउने छ।
स्विसकन्ट्याक्टका कन्ट्री डाइरेक्टर कार्कीले यस प्राविधिक विश्वविद्यालयसँगको सहकार्य नेपालमा सीप विकास क्षेत्रमा कोसेढुङ्गा साबित हुने बताए। उनका अनुसार बीटेक कार्यक्रमले नेपालको सीप प्रणालीलाई श्रम बजारसँग अझ बलियोसँग जोड्दै संरचनागत सुधार ल्याउने छ।
हाल नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत प्रि–डिप्लोमा र डिप्लोमा तहका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। तर, एसईईपछि तीन वर्षे डिप्लोमा गरेका जुनियर इन्जिनियरहरूले त्यसभन्दा माथिल्लो तहको अध्ययनका लागि स्पष्ट मार्ग नहुँदा अलमलमा पर्दै आएका छन्। यसैले मनमोहन प्राविधिक विश्वविद्यालयले सञ्चालन गर्न लागेको बीटेक कार्यक्रमले जुनियर सिभिल इन्जिनियरहरूको पेसागत उन्नतिमा थप सहयोग पुर्याउने छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।